• २ माघ २०८१, बुधबार

अस्पताल शिलान्यास भएको चार वर्षसम्म अलपत्र

blog

अस्पताल निर्माण स्थल । फाइल तस्बिर

फडिन्द्र अधिकारी

लेखनाथ, साउन २४ गते । सम्झौता बमोजिम काम भएको भए २०८० असारमै कास्कीको मादी गाउँपालिकाको आधारभूत अस्पतालले नयाँ भवनबाट सेवा सुरु गरिसक्ने थियो । ०७८ कात्तिक ८ गते प्रतिष्ठान धुलिखेल जेभीसँग १७ महिनामा काम सक्ने गरी भवन निर्माण सम्झौता भएको थियो । सम्झौता सकिएको एक वर्ष बितिसक्दासमेत अस्पतालको डिजाइन नै टुङ्गो लागेको छैन । 

स्थानीय तहमै गुणस्तरीय स्वास्थ्य सेवा दिन नेपाल सरकारले २०७७ मङ्सिरमा एकैपटक तीन सय ९६ पालिकामा अस्पताल निर्माण शिलान्यास गरेको थियो । मादी गाउँपालिकाको वडा नम्बर ७, छाचोकमा २१ करोड ९९ लाखमा १५ शय्याको अस्पताल भवन बनाइँदै छ । शिलान्यासबाट भौतिक प्रगति शून्य रहेकोमा गत वर्ष जग्गामा मेसिनरी वाल लगाइएको छ । 

प्रतिष्ठा धुलिखेल जेभीले गएको मङ्सिरबाट वाल लगाएर त्यसबापतको ९५ लाख भुक्तानी लिइसकेको छ । तीन ब्लक जोडिएको साढे दुई तले भवन बनाउने योजना छ । अस्पताल भवन एक हजार ८७ वर्ष मिटरमा हुने पछिल्लो स्वीकृत हुन बाँकी डिजाइनमा उल्लेख छ । साइटको व्यवस्थापन, ड्रइङ तथा डिजाइन स्वास्थ्य मन्त्रालयबाट स्वीकृत हुनुपर्नेमा स्वीकृत नगरी ठेक्का हुँदा निर्माणमा समस्या आएको थियो । 

मन्त्रालयबाट ड्रइङ तथा डिजाइन स्वीकृत गरी २०८० असारमा पठाए पनि भूगोलअनुसार उपयुक्त नहुँदा त्यसमा परिमार्जनको प्रक्रिया जारी छ । प्रतिष्ठा धुलिखेल जेभीका इन्जिनियर धिरज खत्रीले अहिलेसम्म आर्किटेक्चर र स्ट्रक्टर डिजाइनमात्र आएको जनाउँदै बाँकी डिजाइन आएपछि काम सुरु हुने बताउनुभयो ।

कम्पनीले डिजाइन फाइनल भएको डेढ वर्षमा काम सक्ने जनाएको छ । “अस्पतालको डिजाइन, ड्रइङ र आर्थिक कारणले नरोकिने हो भने हामी सम्झौतामा भने जस्तै डेढ वर्षका काम सक्छौँ,” उहाँ भन्नुहुन्छ, “जग्गामा थप सेयर वाल लाउनुपर्ने अवस्था छ । भदौबाट वाल लगाउन थाल्छौँ ।” यो वालको मात्र लागत ७० लाखभन्दा माथि आउने अनुमान छ । अस्पताल निर्माणका लागि २०७८।७९ मा तीन करोड प्राप्त भएकोमा ६३ लाख २६ हजार पेस्की दिइएको थियो भने बाँकी रकम फ्रिज भएको थियो । दोस्रो वर्ष यसका लागि बजेट विनियोजन नै भएन भने गएको वर्ष ४० लाख बजेट थियो । 

गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङ हतारमा निर्माणअघि बढाइँदा समस्या आएको जनाउँदै अब नयाँ डिजाइन अनुसार डेढ वर्षभित्रै अस्पतालको नयाँ भवन तयार हुने बताउनुहुन्छ । “मादीलाई सुविधासम्पन्न अस्पताल नभई हुँदैन,” उहाँ भन्नुहुन्छ, “अब नयाँ भवन चाँडै बनाउन लाग्छौँ । बनेपछि सेवाग्राहीको चापलाई हेरेर आवश्यक जनशक्ति र स्वास्थ्य उपकरण थप्छौँ ।” १२ वडा रहेको मादी गाउँपालिकामा १६ हजारको बसोबास छ । 

अस्पतालले गत वर्षबाट छाचोकको आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट सुविधा दिन सुरु गरेको छ । अस्पतालमा मेडिकल चिकित्सक, प्रयोगशाला, भिडियो एक्स-रे तथा एक्स-रे लगायतका सेवा उपलब्ध छन् । अस्पताललाई रोटरी क्लब पोखरा अन्नपूर्णले ४१ लाख र गाउँपालिकाले १४ लाख गरी ५५ लाखका उपकरण किनेर दिएका थिए ।