• १४ मंसिर २०८१, शुक्रबार

सम्पदा संरक्षणमा सम्झौता हुँदैनः प्रमुख महर्जन

blog

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन

ललितपुर, साउन २४ गते । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महानगरले सम्पदाको संरक्षणलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको छ । बिहीबार ललतिपुरमा तस्बिरमा नगरप्रहरी नामक पुस्तक विमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।

प्रमुख महर्जनले ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिहरुमध्ये सम्पदा क्षेत्रको संरक्षणको नीति प्राथमिकताका साथ अघि बढाएको जिकिर गर्नुभयो । उहाँले सम्पदा संरक्षणमा कुनै सम्झौता नहुने बताउनुभयो ।

उहाँले सम्पदा संरक्षणमा कुनै कमजोरी नगरी महानगरले काम गरिरहेको जिकिर गर्नुभयो । उहाँले ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदाहरुलाई सम्मान गरेर आफूहरु संरक्षणमा जुटेको पनि बताउनुभयो ।

प्रमुख महर्जनले सम्पदाको क्षेत्रमा महानगरले कायापलट हुनेगरी काम गरेको दाबी गर्नुभयो । रातो मत्स्येन्द्रनाथको प्रचारप्रसारका लागि महानगरले यस वर्ष उल्लेख्य काम गरेको पनि बताउनुभयो ।

‘‘ललितपुर महानगरपालिकाले लिएका धेरै नीतिमध्ये एउटा सम्पदा क्षेत्र हो । सम्पदा क्षेत्रमा हामी कुनैपनि किसिमको सम्झौता गर्दैनौँ । कुनै कमजोरी गर्दैनौँ । ललितपुर महानगर क्षेत्रभित्र रहेको सम्पूर्ण सम्पदालाई सम्मान गर्नुपर्छ, व्यवस्थापन र सुधार गर्नुपर्छ भन्ने लक्ष्य राखेर अघि बढेका छौँ ।,’’ प्रमुख महर्जनले भन्नुभयो, ‘‘यो वर्ष सम्पदाको क्षेत्रमा एउटा कायापलट हुने काम गर्‍याैं । उदाहरणका लागि रातो मत्स्येन्द्रनाथको जात्रा । यो वर्ष सम्पन्न भयो । यसको प्रचार पुगेन भनिन्छ । यसको प्रचार नपुग्नुका कारण तिथिमितिअनुसार हुन्छ । तिथिमिति अनुसार निम्ता गर्दा गाह्रो हुन्छ, कुनै विदेशी अतिथिलाई बोलाउँदा । यसमा हामीले अन्तर्राष्ट्रिय पाहुना बोलाउन अप्ठ्यारो छ ।’’

प्रमुख महर्जनले महानगरभित्र अवैधानिक रुपमा गर्ने क्रियाकलापलाई बन्द गर्न महानगर प्रहरीले सशक्त भएर काम गर्ने विश्वास लिएको बताउनुभयो ।