• १४ पुस २०८१, आइतबार

कृषि औजार कारखानालाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

blog

काठमाडौँ, साउन २३ गते। कृषि तथा पशुपन्क्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि औजार कारखानाको विकास र प्रवर्द्धनका लागि सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

वीरगन्जस्थित कृषि औजार कारखानामा राष्ट्रिय आविष्कार केन्द्रले गरेका कामको अनुगमन एवं अध्ययनका लागि पुग्नुभएका उहाँले यस्तो प्रतिबद्धता जनाउनुभएको हो। उहाँले राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भ उठेको भन्दै नयाँ के काम गरिरहेको छ भन्ने अध्ययनका लागि आफूले अवलोकन गरेको बताउनुभयो। अवलोकनका क्रममा कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५÷१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामान बनाउन सुरु गरेको पाएको बताउनुभयो। उहाँले कृषि औजारको उत्पादन वृद्धिका लागि मन्त्रालयले छलफल गरेर आवश्यक निर्णय लिने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘राष्ट्रिय आविष्कार केन्द्रका विषयमा धेरै सन्दर्भहरू उठिरहेका थिए, यो आविष्कार केन्द्रले नयाँ के गरेको छ, त्यो अध्ययन गर्न आएका हौँ। हामीले कृषि औजार कारखानाभित्र राष्ट्रिय आविष्कार केन्द्रले उत्पादन गरेका १५/१८ वटा कृषिसँग सम्बन्धित मेसिनरी सामानको अवलोकन गरेका छौँ। यहाँको अवस्था अध्ययन गरेका छौँ, मन्त्रालयमा छलफल गरेर अघि बढ्छौँ। मुलुक सञ्चालन गर्ने ठाउँमा हामी छौँ। मन्त्रालयको तवरबाट गर्नुपर्ने काममा व्यापक छलफल गरेर अघि बढ्नेछौँ।’

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले अहिले आविष्कार केन्द्रले झन्डै २० किसिमका नमुना कृषि औजार बनाउन परीक्षण गरेको बताउनुभयो। उहाँले उत्पादन सुरु गर्न आफूहरू तयार रहे पनि विद्युत प्राधिकरणले ५ सय केबीको लाइनको ट्रान्सफर्मर राख्न ढिला गर्दा उत्पादन गर्न नसकेको बताउनुभयो। उहाँले साना किसानलाई चाहिने र उपयोग हुने औजार उत्पादन गर्ने पनि बताउनुभयो। उहाँले राष्ट्रिय आविष्कार केन्द्रले अहिलेसम्म दुई करोड खर्च गरिसकेको र अब २० करोडको जिम्मा लिने बताउनुभयो। बाँकी सहयोगमा सरकारले गर्न आवश्यक नीति नियम बनाउन आग्रह गर्नुभयो। 

सोही अवसरमा मन्त्री अधिकारीले सुक्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्ज र वीरगन्ज भन्सार कार्यालयको अवलोकन गर्नुभएको थियो।