प्रेमराज सिम्खडा
कालीकोट, साउन २३ गते । हिजोदेखि लगातार परेको अविरल वर्षाका कारण पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका –१ गगनलेखोला र एसमोडमा पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको हो ।
पहिरोका कारण कर्णाली राजमार्गमा चल्ने सवारी साधन बिचबाटोमा अलपत्र परेका छन । ट्रक, बसलगायत साना सवारी साधन बिचबाटोमा रोकिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख प्रहरी नायव उपरीक्षक अर्जुन केसीले अवरुद्ध राजमार्ग खुलाउन बुधबार बिहान ६ बजेदेखि स्काभेटरसहित प्रहरी टोली खटिएको बताउनुभयो ।
प्रमुख केसीले जिल्ला ट्राफिक प्रहरी प्रमुख टोपबहादुर महतराले पहिरो हटाउन खटिएको टोलीसँग निरन्तर सम्पर्क रहेको भन्दै जतिसक्दो छिटो सडक खुलाउने प्रयास भइरहेको जानकारी दिनुभयो ।
गोगने खोलाको माथिबाट पहिरो आउँदा सडक अवरुद्ध भएपछि अहिले राजमार्ग ठप्प छ । कालीकोटबाट सुर्खेत जाने यातायातका साधनलाई प्रहरीले हुल्मबजारमा रोकेको छ । दैलेख प्रहरीले राकम कर्णालीमै यातायातका साधन रोकेको छ । यात्रुलाई खान बस्न समस्या नहुने भनी बजार क्षेत्रमै यात्रुलाई रोकेको प्रहरीको भनाइ छ । गगने खोला, एस मोड र हुल्मबजार क्षेत्रमा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ ।