• ११ पुस २०८१, बिहिबार

गुल्मीमा एसइई ग्रेड वृद्धिका लागि दुई हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै

blog

रमेश विश्वकर्मा
गुल्मी, साउन २३ गते ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) को ग्रेड वृद्धि परिक्षाका लागि गुल्मीबाट दुई हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका छन् । आज बुधबारदेखि साउन ३१ गतेसम्म सञ्चालन हुन लागेको एसइई ग्रेड वृद्धि परीक्षामा यस जिल्लाका १३८ विद्यालयबाट दुई हजार ६६३ परीक्षार्थी सहभागी भएका छन् ।

शिक्षा विकास तथा समन्वय एकाइ गुल्मीका प्रमुख लोकनाथ मरासिनीका अनुसार यस जिल्लाबाट ग्रेडवृद्धि परीक्षामा सबैभन्दा बढी परीक्षार्थी गणित विषयमा सहभागी हुनेछन् ।

जसका लागि दुई हजार ११९ परीक्षार्थी सहभागी हुने भएका छन् । विज्ञान विषयको लागि एक हजार ९१९, अङ्ग्रेजी विषयका लागि ८८१, ऐच्छिक प्रथम विषयका लागि ८७३, सामाजिक विषयका लागि ५७१, ऐच्छिक दोस्रो विषयका लागि ४६०, नेपाली विषयका लागि २३७ र प्राविधिक धारतर्फका ३६ जना परीक्षार्थी सहभागी हुनेछन् ।

परीक्षा सञ्चालनका लागि चार विद्यालयमा छ परीक्षा केन्द्र तोकिएको छ । रुरुक्षेत्र गाउँपालिकाको रिडीस्थित रिडी माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा २२ विद्यालयका ३९३, सिद्धबाबा माध्यमिक विद्यालयमा रहेका दुई परीक्षा केन्द्रमा ५५ विद्यालयका ८५१, महेन्द्र माध्यमिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा १४ विद्यालयका ५५४ र रेसुङ्गा माध्यमिक विद्यालयमा रहेका दुई परीक्षा केन्द्रमा ४७ विद्यालयका ८६५ परीक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइले जनाएको छ ।