• १२ मंसिर २०८१, बुधबार

राजमार्गको पहिरो एक महिनासम्म पनि हटाइएन

blog

असार तेस्रो हप्ता आएको अविरल वर्षाका कारण गएको वालिङ नगरपालिका–८, बजार क्षेत्रको पहिरो ।

राधाकृष्ण डुम्रे

वालिङ, साउन २३ गते । सिद्धार्थ राजमार्गको स्याङ्जा सडकखण्डमा ठाउँ ठाउँमा पहिरो गएको छ । गएको असार तेस्रो हप्ता आएको अविरल वर्षले सिद्धार्थ राजमार्गको स्याङ्जा खण्डलाई अस्तव्यस्त बनाएको हो । झन्डै ९० किलोमिटरको स्याङ्जा खण्डमा एक सयभन्दा धेरै पहिरो गएको छ । पहिरोका कारण केही दिन अवरुद्ध भएको सडक एकतर्फी सञ्चालन गरियो । एकतर्फी सञ्चालन गरेको पनि एक महिना पूरा भएको छ तर अहिलेसम्म सडकको पहिरो पूर्ण रूपमा हटाइएको छैन अर्थात् सडक एकतर्फी रूपमा नै सञ्चालनमा छ । 

राजमार्ग महिना दिनसम्म पनि पूर्ण रूपमा सञ्चालनमा नआउँदा यात्रुलाई असहज भएको छ । जिल्लाको वालिङ, पुतलीबजार, भिरकोट, गल्याङ नगरपालिका तथा फेदीखोला गाउँपालिका अन्तर्गतका विभिन्न ठाउँमा सडक अस्तव्यस्त अवस्थामा छ । सडकलाई दुईतर्फी रूपमा सञ्चालन गर्न सडक डिभिजन कार्यालय र स्थानीय तह कसैले पनि ध्यान दिएका छैनन् । जसको कारण दुर्घटनाको जोखिमसमेत बढेको छ । वालिङ नगरपालिका–८ मा सडक एकतर्फी सञ्चालन भएको एक महिना पुग्यो । समयमा नै सडकमा थुप्रिएको माटो नफालिँदा पहिरो गएको ठाउँ वरिपरिको सडक भत्किन थालेको छ । 

वालिङमा पहिरो गएको एक सय मिटरको दुरीमा नै सडक डिभिजनको कार्यालय छ । मोटर ग्यारेज सञ्चालन गर्दै आउनुभएका नारायणप्रसाद रेग्मीले कार्यालयमा डोजर र कर्मचारी भए पनि नजिकै गएको पहिरो नदेखेको र सडकलाई अस्तव्यस्त बनाएको गुनासो गर्नुभयो । अन्य स्थानीयले पनि वालिङ क्षेत्रमा विद्यालयका शिक्षक तथा अभिभावकले बजारकै पहिरोले सास्ती दिएको गुनासो गर्दै आएका छन् । पायोनियर माविका शिक्षक नासिर खाँले सडकका कारण समस्या आएको बताउनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थी ओहोरदोहोर गर्ने मुख्य राजमार्गमा नै महिना दिनसम्म पहिरो हट्दैन, अन्यत्र के होला ?” वालिङ–१३ मा पहिरो र नालीको माटो नफालिँदा सडक भत्किन थालेको स्थानीय मीनेश पाठकले बताउनुभयो । उहाँ भन्नुहुन्छ, “१० लिटर तेल खर्च गर्दा सफाइ हुने थियो, अब १० लाखभन्दा बढी खर्च लाग्ने भयो, अब टेन्डर गर्ने त होला !” 

वालिङ–८ का वडाध्यक्ष दामोदर तिवारीले पहिरो हटाउन लागिएको बताउनुभयो । उहाँले भन्नुभयो, “वालिङ बजार क्षेत्रमा थुप्रिएको माटो हटाएर सडक पूर्ण रूपमा सञ्चालन गर्न नगरपालिका र सडक डिभिजनबिच सहकार्य हुँदै छ । अब एक/दुई दिनमा नै माटो हट्छ ।”