• १२ मंसिर २०८१, बुधबार

लाग्दैन निद्रा नारायणी किनारमा

blog

मीना कँडेल 

कावासोती, साउन २३ गते ।  मनसुनजन्य प्रकोपका कारण नवलपुर उच्च जोखिममा रहेको जिल्ला हो । यहाँ मनसुनका कारण सबैभन्दा बढी प्रभावित हुने स्थानीय तह मध्यविन्दु, गैँडाकोट, देवचुली र कावासोती नगरपालिका हुन् । त्यस्तै विनयीत्रिवेणी र हुप्सेकोट गाउँपालिका पनि बाढीपहिरोको उच्च जोखिममा छन् । बाढीपहिरोका कारण यहाँ बर्सेनि ठुलो जनधनको क्षति हुने गरेको छ । 

बर्खामा लगातार पानी पर्न सुरु भएपछि नारायणी नदी किनारमा रहेका गाउँका स्थानीयको निद्रा हराउँछ । मध्यविन्दु नगरपालिकाको सेहरी गाउँका स्थानीय पानी पर्नासाथ त्रसित हुने गरेका छन् । करिब दुई दशकअघि नदीमा आएको बाढीका कारण तत्कालीन नारायणी, कोल्हुवालगायतका गाविसमा ठुलो क्षति पुगेको थियो । नारायणी नदी तटीय क्षेत्रमा रहेको मध्यविन्दु नगरपालिकाको वडा नं. २, ३, ४, ६, १२ र १५ मा बर्सेनि हुने कटानको उचित व्यवस्थापन नहुँदा स्थानीयले सास्ती भोग्दै आएका छन् । 

मध्यविन्दु–२, सेहरीका सीताराम महतोले बर्खा सुरु भएपछि आफूहरूको पीडाका दिन सुरु हुने बताउनुभयो । खास गरी नारायणी नदीको माथिल्लो तटीय क्षेत्रमा पानी पर्दा नदीमा बाढी आउँछ कि भन्ने चिन्ता आफूको मनमा रहने गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “साउन लागेपछि असोज नलाग्ने बेलासम्म हामी ढुक्कसँग निदाउन सक्दैनौँ । बर्खा सुरु भएसँगै कतिबेला नारायणी बढेर आउँछ र हाम्रो उठिबास लगाउँछ भन्ने चिन्ताले अझै पनि सताउने गरेको छ ।” 

स्थानीय रामभक्त अधिकारीले २१ वर्षअगाडिको घटनाका कारण अहिले पनि पानी पर्दा रातमा निद्रा नलाग्ने गरेको बताउनुभयो । उहाँले २०५८ सालमा नारायणी नदीमा आएको बाढीबाट तत्कालीन नवलपरासीको नारायणी गाविसमा पर्ने सेहरी गाउँमा डुबान तथा कटानका कारण गाउँ नै स्थानान्तरण हुनु परेको बताउनुभयो । बाढीले गाउँमा क्षति पु¥याएपछि नजिकको सुरक्षित स्थान विद्यालय तथा सामुदायिक भवनका साथै आफन्तको घरमा शरण लिन पुगेको अधिकारीले बताउनुभयो । मध्यविन्दु नगरपालिका प्रमुख भीमलाल अधिकारीले नारायणी नदी कटानको उचित व्यवस्थापनका लागि केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण गराएको बताउनुभयो । समस्याको दिगो व्यवस्थापन गर्न नगरपालिका निरन्तर रूपमा लागिपर्ने अधिकारीले बताउनुभयो । नारायणी नदीको दीर्घकालीन व्यवस्थापन गर्नका लागि सरोकारवालाले चासो दिनुपर्ने उहाँ बताउनुहुन्छ ।