• २२ साउन २०८१, मङ्गलबार

बङ्गलादेशमा नोबेल पुरस्कार विजेता युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न आह्वान

blog

ढाका, साउन २२ गते । प्रधानमन्त्री शेख हसिनाको राजीनामापछि विद्यार्थी आन्दोलनका नेताहरूले बङ्गलादेशको वर्तमान राजनैतिक अवस्थालाई सम्बोधन गर्न नोबेल पुरस्कार विजेता डा. मुहम्मद युनुसलाई अन्तरिम सरकारको नेतृत्व गर्न प्रस्ताव गरेको ढाका ट्रिब्यूनले जनाएको छ ।

प्रमुख विद्यार्थी नेता नाहिद इस्लाम, आसिफ महमुद र अबु बकर मजूमदारले मङ्गलबार भिडियो सन्देशमार्फत यस्तो घोषणा गरेका हुन् । ट्रिब्यूनका अनुसार विद्यार्थी नेता नाहिदले सोमबार राती २४ घण्टाभित्र अन्तरिम सरकारको रूपरेखा तयार गरिने घोषणा गर्नुभएको थियो । 

बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै विद्यार्थी समूहले सुरू गरेको आन्दोलनले सफलताको उत्कर्ष पार गर्दै प्रधानमन्त्री हसिनालाई राजिनामा दिन बाध्य बनाएको हो । 

बङ्गलादेशमा आएको राजनैतिक परिवर्तनपछि सोमबार राती नै राष्ट्रपति मोहम्मद साहाबुद्दिनले सेना प्रमुख वाकर–उज–जमानलाई अन्तरिम सरकार गठन गर्न स्वीकृति प्रदान गर्नुभएको हो ।

यसैबिच, बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का महासचिव मिर्जा फक्रुल इस्लाम आलमगीरले आफ्नो पार्टीका कार्यवाहक अध्यक्ष तारिक रहमान चाँडै नै देश फर्किने घोषणा गर्नुभएको छ । 

महासचिव मिर्जा फक्रुलले हसिना सरकारले नेता तारिक रहमानलाई झुटो मुद्दामा अन्यायपूर्ण रूपमा निर्वासित गरिएको जनाउदै उहाँले आन्दोलनलाई समर्थन गरेको र तुरुन्तै स्वदेश फिर्ता हुने आशा व्यक्त गर्नुभयो । 

मिर्जा फक्रुलले आफ्ना पार्टी नेता बेगम खालिदा जियालाई तुरुन्तै रिहा गर्ने निर्णय गरिएको उल्लेख गर्दै राजनीतिक कारणले जेलमा परेका अन्य व्यक्तिलाई पनि रिहा गर्ने जनाउनुभयो । रासस/एएनआई