• २२ साउन २०८१, मङ्गलबार

युवा पुस्तामा नकारात्मक भावना बढ्दै गयो : मन्त्री चौधरी

blog

युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा सहभागी हुनुहुँदै ।

काठमाडौँ, साउन २२ गते । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले युवा पुस्तामा नकारात्मक भावना बढ्दै गएको बताउनुभएको छ ।

मङ्गलबार नेपाल स्काउटको आयोजनामा भएको दीक्षान्त समारोहमा बोल्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । उहाँले स्काउटको भूमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको पनि उल्लेख गर्नुभयो ।

मन्त्री चौधरीले सात लाख स्काउट सदस्य बनाउने लक्ष्यमा मन्त्रालयले आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले स्काउटको स्तरोवृद्धिका लागि आवश्यक परे ऐन संशोधन गर्न सकिने पनि स्पष्ट पार्नुभयो ।

मन्त्री चौधरीले भन्नुभयो, ‘‘देश सङ्घीयतामा गएको छ । स्काउटको भूमिका र आवश्यकता दिन प्रतिदिन बढ्दै गएको छ । सामाजिक न्यायहरू हराउँदै गइरहेको छ । बालबालिकाहरूमा राम्रो प्रवृत्ति युवाहरूमा बिस्तारै खस्किँदै गइरहेको छ । विश्वमा १७६ वटा देशमा १७० वर्ष भइसकेको छ । केही वर्षपछि हामीले पनि सय वर्ष मनाउँछौँ । अहिले स्काउटमा एक लाख २८ हजार हुनुहुन्छ । अब सात लाख पुर्‍याउने लक्ष्य छ ।’’

मन्त्री चौधरीले सरकारले आर्थिक, सामाजिक र ऐनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘युवा तथा खेलकुद मन्त्रालयले के नीति परिवर्तन गर्दा हुन्छ, हामी गर्नेछौँ । अहिले २०५० सालको ऐन छ, २०७५ सालमा केही ऐनहरू संशोधन भएको छ । अहिले पनि केही कुराहरू संशोधनका लागि मन्त्रालयमा पुगेको छ । त्यसमा सानो सल्लाह गर्न सकिन्छ । यो सामाजिक संस्था हो, यसले शैक्षिक र सामाजिक आन्दोलनमा अहम् भूमिका खेल्छ । चरित्र निर्माणमा निकै राम्रो भूमिका खेल्छ । स्काउटलाई ७५३ वटै स्थानीय तहमा पुर्‍याउनसके राम्रो हुनेछ ।’’