• १० मंसिर २०८१, सोमबार

३० जनामा हैजा पुष्टि, सबैभन्दा बढी ललितपुरमा

blog

काठमाडौँ, साउन २२ गते । साउन महिनायता ३० जनामा हैजा पुष्टि भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्याङ्क अनुसार साउन महिना लागेदेखि चार जिल्लामा ३० जनामा हैजा पुष्टि भएको छ ।

हैजा पुष्टि हुनेमा १८ जना पुरुष १२ जना महिला रहेका छन् । त्यसैगरी आठ जना १४ वर्ष मुनीका रहेका छन् ।

हैजा पुष्टि सबैभन्दा बढी ललितपुरमा रहेका छन् । ललितपुरमा १९ जनामा हैजा पुष्टि भएको छ । कैलालीमा आठ जना, प्युठानमा दुई जना र काठमाडौँमा एक जना हैजा पुष्टि भएको छ ।

सरुवारोग विशेषज्ञ डा.शेरबहादुर पुनले हैजा भिब्रियो कोरेला नामक ब्याक्टेरियाको कारण लाग्ने अति सङ्क्रमण झाडापखाला हो । उहाँका अनुसार हैजा बनाउने ब्याक्टेरिया शरीरभित्र प्रवेश गरेर झाडापखाला लागि जलवियोजन भएर मृत्यु समेत हुने गर्छ ।

हैजा दूषित पानीको माध्यमबाट सर्ने गर्छ । त्यसका अतिरिक्त बासी खानेकुरा, नपकाएको खानेकुरा, सङ्क्रमित व्यक्तिले हात नधोई सरसामान छोएमा हैजा सर्छ ।

डा.पुनका अनुसार निरन्तर पातलो चामल धुँदा निस्कने चौलानी जस्तो दिसा लाग्नु, बान्ता हुनु हैजाको प्रमुख लक्षण हुन् ।

झाडापखाला निरन्तर लाग्ने हुँदा शरीरमा पानीको मात्रा घट्ने हुँदा केही घण्टाभित्रै जलवियोजन तथा इलेक्ट्रोलाइटको कमी हुने चिकित्सक बताउँछन् । जलवियोजनका कारण तौल घट्ने, पेट दुख्ने, आँखा गढ्ने, छाला चिसो हुने, हातगोडा चाउरी पर्ने, छाला नीलो हुने जस्ता लक्षण देखिन्छन् ।

हैजा लाग्न नदिन सधैँ पानी उमालेर वा क्लोरिन झोलको प्रयोग गरे मात्रै पिउने, व्यक्तिगत सरसफाइमा ध्यान दिने, बासी सडेगलेका खानेकुरा नखाने, खाना छोपेर राख्ने, काँचै खान मिल्ने फलफूल र तरकारी सरसफाइलाई विशेष ध्यान दिन डा. पुनको सुझाव छ ।