• २२ साउन २०८१, मङ्गलबार

पेरिस ओलम्पिक : २१ स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

blog

पेरिस, साउन २२ गते । सोमबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले २१ स्वर्ण, ३० रजत र २८कांस्यसहित सबैभन्दा बढी ७९ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, फ्रान्स, अस्ट्रेलिया, बेलायत, दक्षिण कोरिया, जापान, इटाली, नेदरल्याण्ड र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् ।

दोस्रोमा चीनले  २१ स्वर्ण, १८ रजत र १४ कांस्यसहित कुल ५३ पदक हात पारेको छ भने फ्रान्सले १३ स्वर्ण, १६ रजत र १९ कांस्य पदकसहित कुल ४८ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।

त्यसैगरी, चौथो स्थानमा रहेको अस्ट्रेलियाले १३ स्वर्ण, १२ रजत र आठ कांस्यसहित ३३ पदक जितेको छ भने पाँचौँ स्थानमा बेलायतले १२ स्वर्ण, १३ रजत र १७ कांस्यसहित कुल ४२ पदक जितेको छ । 

पदक तालिकामा छैटौँ स्थानमा रहेको दक्षिण कोरियाले ११ स्वर्ण, आठ रजत र सात कांस्यसहित कुल २६ पदक जितेको छ भने जापानले १० स्वर्ण, पाँच रजत र ११ कांस्यसहित २६ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।

आठौँ स्थानमा रहेको इटालीले नौ स्वर्ण, १० रजत र छ कांस्यसहित कुल २५ पदक जितेको छ भने नेदरल्यान्डसले सात स्वर्ण, पाँच रजत र पाँच कांस्यसहित कुल १७ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले सात स्वर्ण, पाँच रजत र चार कांस्यसहित कुल १६ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ । रासस/एएफपी