• २२ साउन २०८१, मङ्गलबार

आधाभन्दा बढी हतियार नवीकरण भएनन्

blog

जिल्ला प्रशासन कार्यालय झापा

लीलाराज खड्का 

बिर्तामोड, साउन २२ गते  ।  झापामा दर्ता रहेका आधाभन्दा बढी हातहतियार नवीकरण नभएको जिल्ला प्रशासन कार्यालय झापाको वार्षिक विवरणमा देखिएको छ ।

 झापा जिल्लामा हालसम्म साना ठुला गरी कुल ८५७ जनाले हतियार राखेको विवरण देखिएको छ  । तर नियमित नवीकरणका लागि भने हालसम्म ३१३ जना मात्रै जिल्ला प्रशासन कार्यालयमा आएको देखिएको छ  । बाकीले भने हालसम्म पनि हतियार नवीकरण नगरेको पाइएको जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी विश्वनाथ  नेपालले बताउनुभयो ।

 यसरी हतियार राखेर नवीकरण नगरेमा दोब्बर दस्तुरदेखि लिएर त्योभन्दा पनि बढी रकम विलम्ब शुल्क बुझाएर नवीकरण भने गर्न पाइने कानुनी प्रावधान रहेको छ । झापामा आफ्नो सुरक्षा संवेदनशीलता देखाएर हतियार राख्नका लागि निवेदन परेको खण्डमा हातहतियार बन्दुक राख्न दिने कानुनी प्रावधान रहेको छ । तर घरमा हतियार राख्ने नागरिकले समयमा आफ्नो हतियारको विवरणका बारेमा जानकारी र समयमै कर तिर्नुपर्ने भए पनि झापामा भने यसो नगरिएको पाइएको हो । यस अघि कतिपय नागरिकले हतियार द्वन्द्वकालमा खोसिएको तथा नष्ट भएको भए पनि सोका बारेमा नागरिकले जिल्ला प्रशासनमा जानकारी सम्म नगराएको हुनाले जिल्ला प्रशासनको रेकर्डमा उक्त हतियार सम्बन्धित नागरिकसँगै रहेको तथ्याङ्क रहेको पाइएको झापा जिल्ला प्रशासनको सूचना अधिकारी रहनुभएका नेपालले बत्ताउनुभयो ।