• २२ साउन २०८१, मङ्गलबार

दुई हजारभन्दा बढीमा डेंगु पुष्टि ,एकको मृत्यु

blog

काठमाडौँ, साउन २२ गते । डेंगु सङ्क्रमणबाट एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको छ।  इपिडिमियोलोजी तथा रोग नियन्त्रण केन्द्र अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा. गोकर्ण दाहालले एक जना डेंगु सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभयो । उहाँका अनुसार  हालसम्म ७३ जिल्लाबाट दुई  हजार ३६५ जनामा डेंगु पुष्टि भएको छ ।

इडिसिडीको तथ्याङ्कअनुसार कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन । डेंगु सङ्क्रमण सबैभन्दा बढी बागमती र कोशी प्रदेशमा पुष्टि भएको छ । बागमतीमा प्रदेशमा ७४७, कोशी प्रदेशमा ५३७ जनामा डेंगु पुष्टि भएको छ ।

त्यसै गरी, गण्डकी प्रदेशमा ५०८, लुम्बिनी प्रदेशमा २४७, सुदूरपश्चिममा २४२, मधेस प्रदेशमा ४६ र कर्णाली प्रदेशमा ३८ जनामा डेंगु पुष्टि भएको डा. दाहालले जानकारी दिनुभयो । जिल्लाअन्तर्गत काठमाडौँ र झापामा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । काठमाडौँमा २८७,कास्कीमा १३७, झापामा १३३,चितवनमा११६,तनहुँमा११० जनामा डेंगु पुष्टि भएको देखिएको छ । चिकित्सकका अनुसार डेंगु हुनबाट बच्न एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्ने हो ।

उच्च ज्वरो आउने, शरीरका जोर्नी र मांसपेशीहरू दुख्ने, आँखाको गेडी दुख्ने, टाउको दुख्नु, शरीरमा राता बिमिराहरू आउनु, वाकवाकी लाग्नु वा वान्त हुने यसको प्रमुख लक्षण हुन् । लामखुट्टेको टोकाइबाट बच्न पूरै शरीर ढाक्ने लुगा लगाउने, धूप बाल्ने, मलम लगाउन डा।दाहालको सुझाव छ ।कर्णाली प्रदेशका मुस्ताङ, डोल्पा, हुम्ला, जुम्ला गरी चार जिल्लामा डेंगु पुष्टि भएको छैन ।

उहाँ भन्नुहुन्छ, ‘‘लामखुट्टे नियन्त्रण गर्न लामखुट्टेले फुल पार्न सक्ने सम्भावित घर, विद्यालय, कार्यालय वरपरका पानी जम्ने सबै ठाउँहरू सफा गर्ने, पानी राख्ने भाँडाहरू बेला–बेलामा सफा गर्ने र लामखुट्टेको फुल नष्ट गर्नुपर्छ ।’