• २२ साउन २०८१, मङ्गलबार

दरबन्दी छ चिकित्सक छैनन्

blog

दोलखा समाचारदाता

दोलखा, साउन २२ गते । दोलखाको सदरमुकाम चरीकोटस्थित पशुपति चौलागाईं स्मृति अस्पतालमा दरबन्दी करिब एक सय भए पनि पदपूर्ति नहुँदा स्वास्थ्य सेवा प्रवाहमा असर परेको छ । विशेषज्ञसहित अस्पतालमा ८७ वटा दरबन्दी भए पनि १७ जना चिकित्सक नहुँदा स्वास्थ्य सेवामा असर परेको अस्पताल प्रमुख डा. लक्ष्मण खड्काले जानकारी दिनुभयो । 

बागमती प्रदेश सरकारको अस्थायी दरबन्दी ३३ मध्ये पाँच विशेषज्ञमा एक जना र २० जना चिकित्सक मात्र कार्यरत छन् । प्राथमिक सेवा केन्द्रका स्थायी ११ मध्ये एक जना विशेषज्ञ छन् । छात्रवृत्ति करारका नौ जनामध्ये एक जना विशेषज्ञ चिकित्सक छन् । करारबाट पदपूर्तिका लागि विशेषज्ञ कन्सल्टेन्ट पेडियाट्रिसियन, कन्सल्टेन्ट जनरल सर्जन, कन्सल्टेन्ट अर्थोपेडिक्स सर्जन, कन्सल्टेन्ट जनरल फिजिसियन, गाइनोकोलोजिस्टसहित ३५ जनाको माग गरिएकोमा विशेषज्ञमा कन्सल्टेन्ट जनरल फिजिसियन पदमा मात्र निवेदन र अन्य पदमा ३३ जनाको निवेदन परेको छ । छनोट हुन बाँकी छ ।

५० श-याको अस्पतालमा समितिका २६ र एनआइसी साइमन्ड इन्स्टिच्युटबाट चार जना चिकित्सक कार्यरत छन् । बालरोग र हाडजोर्नीका चिकित्सक नहुँदा सेवा प्रभावित भएको अस्पताल प्रमुख खड्काले जानकारी दिनुभयो ।  अस्पतालबाट चालु वर्षको एक महिनामा दुई हजार ३४३ ले बहिरङ्गबाट सेवा पाएका छन् भने आकस्मिकमा ३०४ र १६२ जना भर्ना भएर सेवा लिएका छन् । अस्पतालको खासै आम्दानी नरहेकाले व्यवस्थापनमा चुनौतीहरू रहेका उहाँले बताउनुभयो ।