• २२ साउन २०८१, मङ्गलबार

दुई दिन देशव्यापी ठुलो वर्षा हुने

blog

काठमाडौँ, साउन २२ गते । आउँदो दुई दिन देशव्यापी रूपमा अत्यन्त मुसलधारेदेखि मध्यम वर्षा हुने भएको छ । मनसुनको न्यूनचापीय रेखा नेपालनजिक आइपुगेको हुनाले मङ्गलबार र बुधबार दुई दिन देशव्यापी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले जारी गरेको विशेष मौसम बुलेटिन अनुसार पूर्वी नेपालदेखि सुदूरपश्चिम भेगसम्मै अति भारी र मध्यम वर्षाको क्रम दुई दिन जारी रहने छ । 

विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार केही जिल्लामा अति भारी वर्षा हुने भएकाले सतर्क रहनुपर्ने छ । अति भारी, भारी र मध्यम वर्षाको वर्गीकरणसहित जारी बुलेटिन अनुसार प्राकृतिक विपत्तिविरुद्ध पूर्वतयारी तथा उद्धार तयारी गर्न उहाँले सरोकारवाला निकायलाई सुझाउनुभएको छ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र मधेश प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका बाँकी केही स्थानमा अति भारी वर्षाको अनुमान गरिएको छ । 

भारीदेखि अति भारी वर्षाको सम्भावना रहेका ३६ जिल्लामा बाढी, पहिरोलगायतको उच्च जोखिम रहेको महाशाखाले औँल्याएको छ । 

त्यस्तै वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिममा रहेका ३७ जिल्लामा पनि पूर्वतयारी आवश्यक रहेको जनाइएको छ । जसमा उपत्यकाको काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लासमेत रहेको छ । 

मध्यमदेखि सामान्य वर्षा हुने सात जिल्लामा पनि खण्डित वर्षा हुन सक्ने भएकाले सतर्क रहन भनिएको छ । सोमबार रातिदेखि बुधबार रातिसम्म रातको समयमा बढी वर्षा हुने भएकाले पनि जोखिम बढ्न सक्ने अनुमान मौसमविद् कँडेलले गर्नुभयो । जसकारण सहरी भेग र तराईमा उच्च डुबान बढ्ने, राजमार्ग, हवाई यातायातसमेत प्रभावित हुने भएकाले मौसम सुधार नभएसम्म टाढाको यात्रा नगर्न महाशाखाले अनुरोध गरेको छ ।