• २२ साउन २०८१, मङ्गलबार

सामाजिक परिचालकदेखि मन्त्रीसम्म

blog

हुम्ला समाचारदाता

हुम्ला, साउन २२ गते । हुम्ला जिल्लाबाट प्रदेश सभा सदस्य बनेकी विजया बुढा प्रदेश सरकारको मन्त्री बन्नुभएको छ । जिल्लास्तरमा सामाजिक परिचालकदेखि सामाजिक काममा प्रवेश गरेकी बुढा अन्ततः प्रदेश सरकारको मन्त्री बन्न सफल हुनुभएको हो । बुढा कर्णाली प्रदेश सरकारमा जलस्रोत तथा ऊर्जा विकासमन्त्री बन्नुभएको छ ।

आइतबार उहाँले आफ्नो पद तथा गोपनीयताको शपथ लिएर कार्यभार समाल्नुभएको छ । २०५४ सालमा मन्त्री बुढाले स्थानीय गैरसरकारी संस्था स्नोल्यान्ड एकीकृत विकास केन्द्रमा सामाजिक परिचालकका रूपमा काम सुरु गरेर आफ्नो सामाजिक जीवन सुरु गर्नुभएको थियो । उहाँले छ महिनासम्म सामाजिक परिचालकका रूपमा काम गर्नुभयो । त्यसपछि नेपाल रेडक्रस सोसाइटीको जिल्ला कार्यसमितिको सदस्य, कर्णाली प्रदेशको उपाध्यक्ष, नेपाल हृदयरोग निवारण केन्द्र जिल्ला सभापति, नेत्रज्योति सङ्घको सदस्य र महिला मानव अधिकार जिल्ला सञ्जालको सदस्यका रूपमा पनि उहाँले काम गरिसक्नुभएको छ । खार्पुनाथ गाउँपालिका–१ को गोक्पा स्थायी ठेगाना भएकी मन्त्री बुढाले नेपाली कांग्रेसको राजनीतिक यात्रा भने नेपाल तरुण दलको जिल्ला सचिवबाट सुरु गर्नुभएको थियो । २०६३ सालमा तरुण दलको जिल्ला महाधिवेशन प्रतिनिधि, महिला सङ्घको जिल्ला सचिव र अध्यक्षसमेत भइसक्नुभएको छ । त्यसपछि नेपाली कांग्रेसको तेह्रौँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यमा चयन हुनुभएको थियो । त्यसपछि नेपाली कांग्रेस जिल्ला कार्यसमितिका सदस्य र हाल नेपाली कांग्रेस हुम्लाको सचिवसमेत हुनुहुन्छ ।