• २२ साउन २०८१, मङ्गलबार

सडक डिभिजन दमकद्वारा गतआवमा ३३ किमी सडक कालोपत्र

blog

झापा, साउन २२ गते । सडक डिभिजन दमकले गत आर्थिक वर्षमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । सडक डिभिजनले ३७ किमी सडक कालोपत्र गर्ने लक्ष्य राखे पनि लक्ष्य राखेको थियो । सडक डिभिजन दमकका सूचना अधिकारी इन्जिनियर गौतमकुमार देवका अनुसार गत आवमा दुईवटा मोटरेबल पुल निर्माणको काम सम्पन्न भएको छ । “राजमार्गका १४ किलोमिटर सडक आवधिक मर्मत र पाँच किमी राजमार्ग पुनःनिर्माण तथा स्तरोन्नति भएको छ”, उहाँले भन्नुभयो ।

 सडक डिभिजन दमकका अनुसार जिल्लामा निर्वाचन क्षेत्र रणनीतिक सडकका लागि विनियोजित रु २२ करोड ८५ लाख ५८ हजारमध्ये सबै अर्थात् शतप्रतिशत खर्च भएको छ । दमक–चिसापानी सडकका लागि विनियोजित रु छ करोडमध्ये रु दुई करोड ५० लाखमात्र खर्च भएको छ । यसैगरी राजमार्ग स्तरोन्नति तथा पुनःस्थापना कार्यक्रमका लागि विनियोजित रु ११ करोड ५५ लाख ५५ हजारमध्ये रु नौ करोड ७५ लाख ६६ हजार खर्च भएको छ ।

त्यस्तै स्थानीय सडक पुल निर्माण शीर्षकको बजेट खर्च प्रतिशत ९८ दशमलव ४८ प्रतिशत, रणनीतिक सडक पुल निर्माण तथा पुलपुलेसा संरक्षण शीर्षकको बजेट खर्च प्रतिशत ८९ दशमलव ९० प्रतिशत र सडक बोर्डको बजेटको ९० दशमलव ९९ प्रतिशत खर्च भएको छ । सूचना अधिकारी देवका अनुुसार गत अवमा पुँजीगततर्फ कुल विनियोजित बजेटको ८९ दशमलव ६२ प्रतिशत खर्च भएको छ ।  आर्थिक वर्ष २०७९र८० मा समग्र बजेटको ७४ दशमलव ५४ प्रतिशत खर्च भएको थियो ।