• २२ साउन २०८१, मङ्गलबार

पूर्वमन्त्री डा.महतद्वारा आर्थिक साक्षरता अभियानको शुभारम्भ

blog

काठमाडौँ, साउन २१ गते । पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले आज यहाँ आयोजित एक कार्यक्रममार्फत ‘आर्थिक साक्षरता अभियान’ शुभारम्भ गर्नुभएको छ । अक्ष ज्योति प्रालिको आयोजनामा सञ्चालित  यस  अभियानलाई मुलुकभर लैजान आवश्यक रहेको उहाँले धारणा व्यक्त गर्नुभयो । 

“युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ”, उहाँले भन्नुभयो, “कानुनले दिएका कैयौँ सुविधाबारे युवाहरूलाई जानकारी गराउन अभियानले सहयोग पुग्नेमा मलाई विश्वास छ ।”

उहाँले विदेशमा पनि जीवन सजिलो नभएको उल्लेख गर्दै युवाहरूले स्वदेशमै भविष्य खोज्नुपर्नेमा जोड दिनुभयो । “मैले पनि अमेरिकामै रहेर अर्थशास्त्र विषयमा विद्यावारिधि गरेको थिएँ”, उहाँले भन्नुभयो, “विदेशमा बस्नेहरूले रिलमार्फत देखाए जस्तो सजिलो छैन । नेपालमै ठुलो सम्भावना छ ।”

आजको कार्यक्रममा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो । प्रतिस्पर्धामा सुमन समल मगर पहिलो, शिशिर लामिछाने दोस्रो र सुरक्षा कँडेल तेस्रो भए । उनीहरूलाई प्रमुख अतिथि डा महतले ट्रफी, प्रमाणपत्र र नगद पुरस्कार वितरण गर्नुभयो । 

अक्ष ज्योतिले अभियानअन्तर्गत आगामी दिनमा मुलुकका विभिन्न क्याम्पसका विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध र वतृत्वकला प्रतियोगिता, उद्यमशीलतासम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र ‘लेक्चर सिरिज’आयोजना गर्ने जनाएको छ । 

आजको कार्यक्रममा ‘स्टार्टअप र साना उद्यमीहरूको समस्या: वित्तीय पहुँचका लागि बैङ्कहरूसँग कसरी सम्पर्क गर्ने ?’ विषयमा राष्ट्रिय वाणिज्य बैङ्क सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिनुभएको थियो । 

साथै ‘डिजिटल बैङ्किङको वरदान र आशीर्वाद: नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले प्रशिक्षण दिनुभयो । रासस