काठमाडौँ, साउन २१ गते । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा मिडिया काउन्सिल विधेयकमाथि मङ्गलबार दफावार छलफल हुने भएको छ । आज बसेको बैठकमा काउन्सिलको अध्यक्ष र सिफारिस समितिको संयोजक कसलाई बनाउने भन्ने विषयमा प्रस्ट हुन नसकेपछि बैठक मङ्गलबार सरेको हो ।
समिति सभापति जयन्तीदेवी राईले असहमति हुँदै आएका विधेयकका केही बुँदामा एकरूपता ल्याउने प्रयास भइरहेको बताउनुभयो । “लगभग धेरै बुँदामा साझा सहमति बनिसकेको छ, अध्यक्ष र सिफारिस समितिको संयोजक राख्ने विषयमा प्रष्ट हुन सकिएको छैन । यस विषयमा पनि चाँडै टुङ्गोमा पुग्छौँ”, उहाँले भन्नुभयो । सांसद डा. बेदुराम भुसाल, भगवती न्यौपाने, सुरेश आलेमगर, आनन्द प्रसाद ढुङ्गानालगायतले विधेयकमाथिको छलफलमा भाग लिनुभएको थियो । रासस