• २२ साउन २०८१, मङ्गलबार

हसिना नयाँ दिल्ली नजिक अवतरण

blog

बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना ।

काठमाडौँ, साउन २१ गते । प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाड्नुभएकी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना भारतको नयाँ दिल्ली नजिकैको हिन्डन एयर बेस विमानस्थलमा अवतरण गर्नुभएको छ । 

देशमा अशान्ति बढ्दै गएपछि प्रधानमन्त्री हसिनाले सोमबार राजीनामा दिएर देश छाड्नुभएको हो । प्रधानमन्त्री हसिना भारत पुगेपनि उतैबाट बेलायत जान लागेको अन्तर्राष्ट्रिय समाचार संस्था बिबिसीले जनाएको छ । 

सोमबार बङ्गलादेशमा आरक्षणलाई लिएर चलिरहेको आन्दोलन थप व्यापक भएको छ । विद्यार्थी नेताहरूले दिएको ‘लङ मार्च टु ढाका’ को आह्वानमा हजारौँ मानिस ढाकाको उपनगरीय इलाकातर्फ र्‍याली गरिरहेका छन् । बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले सोमबार देशवासीका नाममा सम्बोधन गर्ने र अन्तरिम सरकार गठनको तयारी समेत भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 

बङ्गलादेशमा आइतबारदेखि पुनः सुरु भएको हिंसामा हालसम्म कम्तीमा ९० जनाको मृत्यु भएको बताइएको छ । आरक्षणको विषयलाई लिएरगत गत महिना सुरु भएको प्रदर्शनमा सोमबारसम्म प्रहरी, सरकारी अधिकारी र चिकित्सकबाट एएफपीले प्राप्त गरेको तथ्याङ्कमा कम्तीमा तीन सय जनाको मृत्यु भएको पुष्टि भएको छ ।

हिन्डन एयरबेसमा शेख हसिनाको अवतरण

एएनआईका अनुसार, बङ्गलादेशकी प्रधानमन्त्री  हसिना सोमबार साँझ सि–१३० हरकुलस सैन्य यातायात विमानबाट नयाँदिल्ली नजिकैको हिन्डन एयरबेसमा उत्रिनुभएको छ । 

विमानलाई भारतीय वायु सेनाको सि–१७ र सि–१३० जे सुपर हरकुलस विमान ह्याङ्गर नजिकै पार्क गरिने स्रोतहरूले बताएका छन् । 

भारतीय वायुसेना र सुरक्षा एजेन्सीहरूले भारतीय हवाई क्षेत्रमा प्रवेशदेखि लिएर गाजियाबादमा हिन्डन एयरबेससम्म विमानको आवागमनको निगरानी गरेका थिए ।

यद्यपि हसिना दिल्लीमा बस्नुहुन्छ वा अन्यत्र जानुहुन्छ भन्ने स्पष्ट छैन । बङ्गलादेशका मिडिया आउटलेटहरूले उहाँ लन्डन जान सक्नुहुने अनुमान गरेका छन् । 

स्रोतहरूका अनुसार बङ्गलादेशी सि–१३० विमान भारतीय हवाई क्षेत्रमा प्रवेश गरेलगत्तै भारतीय वायुसेनाको लडाकू विमान उडेको थियो र केही समयसम्म उक्त विमानको निगरानी गरेको थियो । भारतीय वायुसेना र भारतीय सेना कुनै पनि आकस्मिक अवस्थाको सामना गर्न तयार रहेको स्रोतले बताएको छ । 

 बिबिसी/एएनआई