• ३१ भदौ २०८१, सोमबार

युवालाई अर्थतन्त्रबारे जानकारी गराउन साक्षरता अभियान : पूर्वअर्थमन्त्री महत

blog

पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महत पुस्कार प्रदान गर्नुहुँदै ।

काठमाडौँ, साउन २१ गते । पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महतले सोमबार पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्नुभएको छ । अक्ष ज्योति प्रालिको आयोजनामा काठमाडौँस्थित पब्लिक यूथ क्याम्पसबाट आर्थिक साक्षरता अभियान सुरु गर्नुहुँदै डा. महतले देशभर साक्षरता अभियान लैजान आवश्यक भएको बताउनुभयो ।

‘‘युवाहरूलाई समग्र अर्थतन्त्रको विषयमा जानकारी गराउन यस्तो अभियान देशभर लैजान जरुरी छ,’’ पूर्वमन्त्री महतले भन्नुभयो, ‘‘कानुनले दिएका कयौँ सुविधाको विषयमा युवाहरूलाई जानकारी गराउन नसक्दा समस्या सिर्जना भएको छ । यस्तो कार्यक्रमले युवाहरूलाई सचेत बनाउन सहयोग गर्छ ।’’

कार्यक्रमका प्रमुख अतिथि रहेका महतले विद्यार्थीले क्याम्पसमा पढ्दादेखि नै भविष्यमा के गर्ने भन्ने योजना बनाउनुपर्ने बताउनुभयो । ‘‘धेरै युवाहरूलाई विदेशमा मात्रै भविष्य छ भन्ने लाग्ने गरेको छ । त्यो सत्य होइन । मैले पनि अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेको थिए,’’ महतले भन्नुभयो, ‘‘विदेश ३० सेकेन्डको टिकटक वा रिल बनाए जस्तो सजिलो छैन । नेपालमा कयौँ काम हुन बाँकी रहेकाले यहाँ ठुलो अवसर छ ।’’

सोमबार पब्लिक यूथ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनसँगको सहकार्यमा आयोजित आर्थिक साक्षरता अभियानलाई राष्ट्रिय वाणिज्य बैङ्कले सहयोग गरेको थियो । अभियानअन्तर्गत पब्लिक यूथ क्याम्पसमा ‘मौद्रिक नीतिले देशको आर्थिक विकासमा पार्ने प्रभाव’का विषयमा निबन्ध लेखन प्रतिस्पर्धा आयोजना गरिएको थियो ।

निर्णायक मण्डलले छनोट गरेको उत्कृष्ट ३ निबन्धलाई ट्रर्फी, सर्टिफिकेट र नगद पुरस्कारसहित सम्मानित गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि डा. महतले निबन्ध प्रतियोगितामा प्रथम भएका सुमन समल मगरलाई ट्रर्फी, सर्टिफिकेटसहित नौ हजार रुपियाँ नगद पुरस्कार प्रदान गर्नुभएको थियो । 

यस्तै, दोस्रो भएका शिशिर लामिछानेलाई  ट्रर्फी, सर्टिफिकेटसहित पाँच हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । तेस्रो भएकी सुरक्षा कँडेललाई ट्रर्फी, सर्टिफिकेटसहित तीन हजार रुपियाँ नगद पुरस्कार प्रदान गरिएको थियो । अक्ष ज्योतिले आगामी दिनमा देशभरका विभिन्न क्याम्पसमा विद्यार्थी क्लबसँगको सहकार्यमा निबन्ध प्रतियोगिताका साथै वक्तृत्वकला प्रतिस्पर्धा, उद्यमशीलता सम्बन्धी तालिम, प्रस्ताव लेखन कार्यशाला र लेक्चर सिरिजलाई निरन्तरता दिने जनाएको छ ।

सोमबार आयोजित लेक्चर सिरिजका कार्यक्रमहरू अक्ष ज्योतिको सामाजिक सञ्जाल मार्फत पनि सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । सोमबार कार्यक्रमअन्तर्गत पब्लिक यूथ क्याम्पसमा २ वटा प्रशिक्षण कार्यक्रम समेत आयोजना गरिएको थियो । ‘स्टार्टअप र साना उद्यमीहरूको समस्या: वित्तीय पहुँचका लागि बैङ्कहरूसँग कसरी सम्पर्क गर्ने ?’ विषयमा राष्ट्रिय वाणिज्य बैङ्कको सञ्चालक समिति सदस्य अनलराज भट्टराई प्रशिक्षण दिएका थिए ।

यस्तै, कार्यक्रममा आयोजित ‘डिजिटल बैङ्किङको वरदान र आशीर्वाद: नियामकको तयारी र दृष्टिकोण’ विषयमा नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशक गुणाकर भट्ट र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधान प्रशिक्षण प्रदान गर्नुभएको थियो ।