• ११ मंसिर २०८१, मङ्गलबार

पक्की सडक कच्चीमा परिणत

blog

तानसेन समाचारदाता

तानसेन, साउन २१ गते । पाल्पाको बाँसटारी–झडेवा सडकखण्डको सालघारी क्षेत्रको सडक जीर्ण बनेको छ । एक दशकदेखि सडक मर्मतसुधार हुन नसक्दा ओटासिल गरेको सडक कच्चीमा परिणत भएको हो ।  

सडक मर्मतसुधार लामो समयदेखि हुन नसक्दा सालघारी क्षेत्रमा यात्रुले सास्ती बेहोर्न बाध्य बनेका छन् । सडकमा ठुठुला खाल्डा छन् । ती खाल्डालाई माटोले पुर्ने गरिएको छ । माटोले सडक पुर्ने कामले सडक भत्किएर घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे बनेको सो सडकमा यात्रा गर्ने यात्रुको गुनासो छ । 

केही वर्षअघि सालघारी, बाँसटारी, तिन्टीआँपलगायतका क्षेत्रको सडक मर्मतसुधार भइसकेको थियो तर सालघारी क्षेत्रमा बजेट अपुग भनेर मर्मत गर्न छाडिएको सडक अझै मर्मत हुन नसकेको माथागढी–३, सराईका यात्रु खगेन्द्र गैरेले बताउनुभयो । पछि मर्मत गर्न भनेर छाडिएको सडक चार वर्षमा पनि मर्मत हुन नसक्दा दैनिक यात्रा गर्न कठिन भएको गुनासो उहाँले गर्नुभयो । 

लुम्बिनी प्रदेश सरकार मातहतमा रहेको सडकमा बजेट अभावका कारण सडकको मर्मतसुधार गर्न नसकेको बताइएको छ । सडकको मर्मतसुधारका लागि प्रदेश सरकारमा योजना पेस गरे पनि योजनाका लागि पर्याप्त बजेट विनियोजन हुन नसकेको सडक पूर्वाधार विकास कार्यालय पाल्पाका प्रमुख वासुदेव भण्डारीले बताउनुभयो । यो सडकको नाममा थोरै रकम विनियोजन भए पनि सालघारी क्षेत्रको सडक निर्माणमा लगाउन नसकेको उहाँले बताउनुभयो ।  

स्थानीय बासिन्दाले भने डेढ सय मिटर सडक मर्मतसुधार गर्न एक करोडभन्दा बढी बजेट नलाग्ने भए पनि कार्यालयले ध्यान दिन नसकेको बताएका छन् । अन्य धेरै स्थानमा सडक कालोपत्रे बनिसकेको छ तर सालघारी क्षेत्रको केही भाग त्यसै छाड्दा समस्या भएको तानसेन–७ का स्थानीय बासिन्दा रोमबहादुर रानाले बताउनुभयो । यो सडक भएर दैनिक सयौँ सवारीसाधन गुड्ने गरेका छन् । अधिकांश स्थानमा सडक कालोपत्रे भए पनि सो क्षेत्रको सडक निर्माण हुन नसक्दा यात्रुले सास्ती बेहोर्नु परेको छ । 

ग्रामीण सडकमा अवरुद्ध

पाल्पाको ग्रामीण क्षेत्रमा जाने सडकमा अधिकांश स्थानमा पहिरो खसेर सडक अवरुद्ध  भएका छन् । सदरमुकाम तानसेनदेखि पालिकाको केन्द्र र पालिकाको केन्द्रदेखि विभिन्न बस्तीसम्म पुग्ने सडकमा पहिरो खसेको छ । बर्सातका कारण खसेको पहिरोका कारण सडक अवरुद्ध बनेको यात्रुको गुनासो छ । जिल्लाको निस्दी, पूर्वखोला, रम्भा, तिनाउ, रिब्दीकोट र रैनादेवी छहराका अधिकांश स्थानका सडकमा पहिरो खसेको पालिकाले जनाएका छन् ।