• १३ पुस २०८१, शनिबार

बाढीले पुल, बेलिब्रिज जोखिममा

blog

सिन्धुपाल्चोक समाचारदाता

सिन्धुपाल्चोक, साउन २१ गते  । भीषण बाढीका कारण सिन्धुपाल्चोकका दर्जन मोटरेबल पुल र बेलिब्रिज उच्च जोखिममा परेका छन् । भे्रमाथाङबाट आएको बाढीले हेलम्बुस्थित चनौटेमा रहेको बेलिब्रिज र इन्द्रावती नदीको बाढीले बाहुनेपाटीको पक्की पुल जोखिममा परेको हो । 

बाह्रबिसेमा रहेको मोटरेबल पुललाई भोटेकोशी र खाडीचौरमा रहेको मोटरेबल पुल सुनकोशी नदीको बाढीले जोखिममा पारेको छ । खाग्दल खोलाको बाढीले खाग्दलमा रहेको बेलिब्रिज बगाएको छ । मोटरेबल पुल र बेलिब्रिज जोखिममा परेपछि सवारीसाधन सञ्चालनमा समस्या भएको छ ।

गत वर्ष मात्रै मेलम्चीमा हालिएको बेलिब्रिज बाढीले बगाउने अवस्थामा पुगेको छ । नदी खोलामा पानीको बहाव बढेपछि पुलहरू उच्च जोखिममा परेका हुन् । निरन्तरको वर्षाले ठुलासाना नदी र ठाडो खोलामा भीषण बाढी आइरहेको छ । बाढीले पुलछेउका भाग कटान गरेको छ ।  

बाह्रबिसे, खाडीचौर, बाहुनेपाटीलगायतका स्थानमा रहेका मोटरेबल पुल ५० वर्ष पुराना छन् । पुराना र बाढीका कारण जोखिममा परेका पुलको संरक्षणका लागि स्थानीय सरकार लागे पनि प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरिरहेको छ । जोखिममा रहेका पुलबाटै दैनिक सवारीसाधन आवतजावत भइरहेको छ । पुलको संरक्षणमा तिनै तहका सरकार लाग्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख बालकृष्ण श्रेष्ठले बताउनुभयो ।