• ११ मंसिर २०८१, मङ्गलबार

खुट्टामा क्यान्सर लागेपछि बिचल्ली

blog

बैतडी समाचारदाता  

बैतडी, साउन २१ गते  । ओत लाग्ने घर गत असोजको भूकम्पले चर्किएको छ । भारी बोकेर परिवार पाल्दै आएका घरमुलीको दुवै खुट्टामा क्यान्सर रोग लागेर थला पर्नुभएको छ । उपचार गर्न खर्च छैन । घरमा खाने अन्न नहुँदा बालबच्चा भोकभोकै बस्न बाध्य छन् । सिगास गाउँपालिका–३, घकुराडी बस्ने रघुवीर साउदको जीवनमा यति ठुलो वज्रपात परेको छ कि चुलो बाल्न वृद्ध आमाको सामाजिक सुरक्षा भत्ता कुर्नु पर्छ । परिवारका सदस्य वृद्ध आमाले पाउने चौमासिकको भत्ता कुरेर बसेका छन् । हजुरआमाको भत्ता आएपछि मात्रै खाना पाइने गरेको १२ वर्षीय नाति दीपक साउदले  बताउनुभयो । 

क्यान्सरपीडित रघुवीरका घरमा ६० वर्षीय एकल आमा भागा साउद, श्रीमती बेलमती साउद, १५ वर्षीय छोरी भावना, १२ वर्षीय दीपक, आठ वर्षीय आयुष र चार वर्षका भुवन साउद गरेर सात जनाको परिवार छ । क्यान्सरपीडित रघुवीरलाई डाक्टरले दुवै खुट्टाका औँलामा क्यान्सर लागेकाले चाँडै काट्नुपर्ने सल्लाह दिएका छन् तर अस्पताल जाने खर्च नभएको पीडा रघुवीरले सुनाउनुभयो । छिमेकी कसैले पनि ऋण पत्याउँदैन । बालबच्चाले भोक लाग्यो भन्दा पकाएर खुवाउन चामल नभएको श्रीमती बेलमतीले पीडा सुनाउनुभयो । 

“गरिबको आफ्नो भन्ने कोही छैन,” आँसु खसाल्दै बेलमतीले भन्नुभयो, “गएको असोज १६ गते बझाङ केन्द्रविन्दु भएर गएको भूकम्पले घर चर्किएको छ । कमाउने श्रीमान्को खुट्टामा क्यान्सर लागेपछि थला पर्नुभएको छ । भोक लाग्यो भन्दै बालबच्चा रुन्छन् । कोसँग पीडा पोख्ने ?”  

भूकम्पले घर चर्किएपछि गाउँपालिकाले राहतस्वरूप दिएको ४० हजार रुपियाँले कर्कटपाता किनेर ल्याए पनि चर्किएको घर पुनर्निर्माण गर्ने परिवारको आर्थिक हैसियत छैन । राहत रकमबाट किनेको टिन काठको खाबोमा मिलाएर परिवारका सदस्य चिसो भुइँमा सुत्ने गरेको ६० वर्षीय आमा भागा साउदले बताउनुभयो । भूकम्प र क्यान्सरपीडित परिवारको दयनीय अवस्था देखेर छिमेकीले बालबच्चालाई खान दिने गरेको स्थानीय प्रकाश साउदले बताउनुभयो । गाउँका हुनेखाने परिवार सबै तराई झरेपछि गाउँमा कसैको पनि आर्थिक हैसियत राम्रो नभएको उहाँले बताउनुभयो । बायाँ खुट्टाको बुढी औँलामा क्यान्सर देखा परेपछि औँला काटेर घर फर्किंदा अहिले दायाँ खुट्टामा पनि क्यान्सर रोग देखा परेको रघुवीरले बताउनुभयो । उपचार गर्न सहयोग गर्ने मनकारी भेटिए खुट्टा काटेर भए पनि बाँच्ने रहर भएको रघुवीरले पीडा सुनाउनुभयो ।