बाजुरा समाचारदाता
बाजुरा, साउन २१ गते । बाजुरामा स्याउ टिप्ने बेला सडक बन्द हुँदा किसान चिन्तित छन् । हिमाली, स्वामीकार्तिक, जगन्नाथ र बुढीनन्दा नगरपालिकालगायतका विभिन्न ठाउँमा स्याउ टिप्ने बेला भएको छ ।
मार्तडीदेखि कोल्टी सडक लामो समयसम्म अवरुद्ध भएपछि स्याउ टिपेर बिक्री गर्न बजारमा लैजान समस्या भएको छ । “बारीमा स्याउ टिप्ने बेला भयो । उता सडक भने अवरुद्ध छ,” स्वामीकार्तिक खापर गाउँपालिका–१, जोरुका स्याउ किसान धनबहादुर रावलले गुनासो गर्नुभयो ।
अवरुद्ध सडक अहिलेसम्म सञ्चालनमा आएको छैन । यसरी लामो समयसम्म सडक सञ्चालनमा नआएपछि स्याउ बजारमा कसरी लैजाने भन्ने मनमा चिन्ता परेको भनाइ उहाँको छ । गत वर्षमा निर्माण हुन थालेको शीतभण्डार अहिलेसम्म सञ्चालनमा आएको छैन । शीतभण्डार सञ्चालनमा नआउँदा स्याउ लामो समय स्टोरमा राख्न नसकिने रावलले बताउनुभयो ।
अविरल वर्षाका कारण बडीमालिका नगरपालिकाको जिल्लीमा गएको पहिरोका कारण मार्तडी–कोल्टी सडक अवरुद्ध भएको भौतिक पूर्वाधार विकास अछामका प्रमुख रुद्धबहादुर बोगटीले बताउनुभयो ।
अबको केही दिनपछि सडक सञ्चालन गर्ने गरी सडक मर्मतको काम सुरु गर्ने तयारी भइरहेको प्रमखु बोगटीले बताउनुभयो । पछिल्लो समय बाजुरामा स्याउ उत्पादनमा वृद्धि भइरहेको छ । गाल्भा, फुजी, गोल्डेनलगायतका स्याउको उत्पादनमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्रले स्याउ ढुवानी अनुदानको व्यवस्था गरेको छ । यहाँको अर्गानिक स्याउ बिक्रीका लागि बारीबाट भरिया तथा खच्चडले पिलिचौर र पिलिचौरदेखि ट्याक्टर तथा ट्रकमार्फत धनगढी, नेपालगन्ज हुँदै काडमाडौँ लैजाने गरिएको छ ।
यो वर्ष भने बजेट अभावका कारण त्यो व्यवस्था गर्न नसकिने कृषि ज्ञान केन्द्रका प्रमुख भूमिराज उपाध्यायले बताउनुभयो । उहाँले भन्नुभयो, “कृषकले स्याउ ढुवानी अनुदानका लागि रकम माग गर्दै आएका छन् तर बजेट अभाव भएकाले अनुदान दिन सकिने अवस्था छैन ।” गत वर्ष विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले पनि ढुवानी अनुदानमा सहगोग गरेका थिए । यो वर्ष ढुवानी अनुदानमा सहयोग गर्नका लागि कुनै संस्थाले सम्पर्क नगरेको उपाध्यायले बताउनुभयो । ३७० हेक्टर जमिनमा स्याउ उत्पादन हुने गरेको छ ।