• २० साउन २०८१, आइतबार

प्राथमिकतामा पानीजहाज र रेलमार्ग सञ्चालन

blog

ललितपुरमा आयोजित सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : सागर बस्नेत

काठमाडौँ, साउन २० गते। प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो दशकलाई नेपालको आर्थिक विकास र उन्नतिको दशको रूपमा चित्रण गर्नुभएको छ।

मुलुकमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न खोजिएको उल्लेख गर्दै उहाँले पछिल्लो ७० देखि ८० को दशकमा नेपालमा राजनीतिक परिवर्तनको दशक मात्रै नभएर आर्थिक विकास र उन्नतिको दशकको रूपमा रहेको दाबी गर्नुभयो। 

आइतबार ललितपुरमा आयोजित सडक विभागको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा बोल्दै प्रधानमन्त्री ओलीले विकास प्रक्रिया ढिलो भए पनि पछिल्लो देशमा नेपाली जनजीवनले आधुनिक युगमा प्रवेश गरेको जिकिर गर्नुभयो। 

उहाँले वनमा गोठालो जाँदा समेत फोन गर्ने अवस्था मुलुकमा आएको दृष्टान्त पेस गर्दै केही पनि भएन भन्न नमिल्ने तर्क गर्नुभयो। सडक, विद्युत, अस्पताललगायतका पूर्वाधार निर्माणको काम मुलुकमा अभियानको रूपमा अघि बढेको प्रधानमन्त्री ओलीको भनाइ छ । 

उहाँले भन्नुभयो, ‘गएको दशक ७० देखि ८० सम्मको बिचको दशक वास्तवमा राजनीतिक परिवर्तनको दशक मात्रै होइन, आर्थिक विकास उन्नतिको दशक भयो। केही गरे पनि चित्त नबुझाउन एउटा कुरा हो। केही पनि भएन भनेर कराउने मान्छे छन्। पछिल्लो समय हिँड लायक बाटोको अभियान चल्यो, विद्युतको अभियान चल्यो। आइटीको सेक्टरमा अभियान चल्यो। देशभर अप्किल फाइबर बिछ्याउने काम भयो। जसले गर्दा फोरजी सेवा पुग्यो। हरेक क्षेत्रमा विकास भएको छ।’’ 

प्रधानमन्त्री ओलीले नेपालमा योजनाबद्ध विकासको थालनी राजा महेन्द्रले गरे पनि त्यसले निरन्तरता पाउन नसकेको र २०४६ सालपछि पनि निजीकरणको कारण विकास, निर्माणको कामले गति लिने अवस्था नबनेको बताउनुभयो। 

प्राथमिकतामा पानीजहाज र रेलमार्ग सञ्चालन

राससका अनुसार, प्रधानमन्त्री ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिनुभएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन निर्देशन दिनुभयो । 

नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उहाँले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गर्नुभयो । पानीजहाजबाट सीमा पारदेखि सामान ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उहाँको भनाइ थियो । 

“पानीजहाजको तयारीसँगै हनुमानगरमा एउटा बन्दरगाह बनाऔँ, भिसा सेन्टर खोलौँ । ठूला भन्सार पनि खोलौँ । सबै काम त्यहीँबाट हुन्छ । यसबाट ढुवानी क्षेत्रमा फड्को मार्न सकिन्छ।”

 भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, सचिव केशवकुमार शर्मासहित सहभागी कर्मचारी÷इञ्जिनियरलाई सम्झाउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “पानीजहाजसँगै अब हामी रेल यातायातमा जानुुपर्छ हाल सञ्चालित कुर्था–जनकपुुर रेलमार्गमा दुई वटा रेल थप्नुुपर्छ । त्यहाँको मार्गलाई बर्दिवाससम्म ल्याउनुपर्छ । पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्नुपर्छ । काठमाडौँमा जमिनमुनी रेल चल्न सम्भव छैन भने स्काइ रेल चलाउनुुपर्छ ।’’

 प्रधानमन्त्री ओलीले पूर्व–पश्चिम रेल सञ्चालन भएपछि भारतीयहरु पनि ग्वाँटीबाट नेपाल हुँदै छोटोमार्गबाट दिल्ली तथा सिलीगुरीबाट हरिद्वारसम्म पुग्न सक्ने बताउनुुभयो ।

उहाँले चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनास्तरीय ढङ्गले छिटो सम्पन्न गर्न ध्यान दिन पनि आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले मध्यपहाडी (पुष्पलाल) राजमार्गको रामेछाप–नुवाकोट खण्ड र अन्य स्थानमा जनताको मागअनुसार मार्ग परिवर्तन गर्न निर्देशन दिँदै मार्ग परिवर्तन गर्दा राजनीतिक दबाब नभई बढीभन्दा बढी जनतालाई लाभ हुने, सुरक्षित र छिटो पुग्न सकिने आधारलाई प्राथमिकता दिन निर्देशन दिनुभयो ।

उहाँले प्राविधिक क्षेत्रमा काम गर्दा हुन सक्ने मानवीय त्रुटिलाई सरकारले क्षमा दिन सक्ने तर भ्रष्टाचार सैह्य नहुने स्पष्ट गर्दै इमानदार भएर काम गर्नेहरुले ढुक्कका साथ अघि बढ्न सक्ने बताउनुभयो ।