• २० साउन २०८१, आइतबार

कोशी पुलमा पैदल हिँड्न र चढ्न निषेध

blog

सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा सर्वसाधारणलाई पुलमा पैदल हिँड्न र चढ्न निषेध गरिएको भन्दै प्रवेश निषेध लेखिएको पर्चा टाँस्दै नेपाल प्रहरी । तस्बिर : गोरखापत्र

जयकृष्ण यादव 

इनरुवा, साउन २० गते । देशकै सबैभन्दा ठुलो नदी सप्तकोशीको कोशी ब्यारेज पुलमा सर्वसाधारणको चाप र बोलबम जानेहरूको आगमनलाई ध्यानमा राखेर पुलमा पैदल हिँड्न र चढ्न निषेध गरिएको छ । 

वार्षिक रूपमा कोशी ब्यारेज पुलमा चढ्ने र केहीले आत्महत्याको प्रयास समेत गर्ने गरेको तथ्यलाई ध्यानमा राखेर कोशी ब्यारेज प्रहरीले प्रवेश निषेध लेखिएको पेपर टाँसेर निषेध गरिएको हो ।कोशी र मधेस प्रदेशको सिमानामा पर्ने सप्तरी र सुनसरी जोड्ने कोशी ब्यारेज पुलमा चढ्न तथा ढोका नजिक भएर हिँड्न प्रवेश निषेध गरेको सूचना सहित प्रवेश निषेध लेखिएको पेपर टाँसिएको छ ।

भारत र नेपालको विभिन्न ठाउँबाट आएको मानिसहरूले पटकपटक हाम फालिरहेको अवस्थामा प्रहरीले उद्धार गर्नुपर्ने र साउन महिनामा बोलबमका लागि जल भर्न विभिन्न ठाउँबाट आएको मानिसहरूले समेत कोशी ब्यारेजको पुलबाट हाम फालेको विगतको घटनालाई ध्यानमा राखेर कोशी पुलमा प्रहरीले निषेध गरिएको पेपर टाँसिएको हो ।

प्रहरी चौकी कोशी ब्यारेजका प्रहरी नायब निरीक्षक सुभाषचन्द्र सुनुवारले दिनुभएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ७५ जनाको उद्धार गरिएको छ । कोशी पुलमा घुम्न आएको र सेल्फी वा फोटो खित्ने बाहानमा आउने र अचानक हाम फालेर आत्महत्या गर्ने प्रयास गर्ने गरेकोले त्यसमा ध्यानमा राखेर निषेध क्षेत्र घोषणा गरेको सुनुवारले बताउनुभयो । 

सुनुवारका अनुसार एक वर्षमा प्रहरीले ७५जनालाई विजितै उद्धार गरिएको छ । केहीको ज्यान समेत गएको विगतको अनुभवलाई ध्यानमा राखेर निषेध क्षेत्र सहित प्रहरी निगरानी बढाएको बताउनुभयो । 

त्यसैगरी साउनमा कोशी पुलमा भव्य साउने मेला समेत लागेकाले आम नागरिकलाई सुरक्षा दिनु प्रहरीको जिम्मेवारी भएको भन्दै कोशी पुलमा चढ्नको लागि निषेध पेपर टाँसिएको प्रहरीले जनाएको छ ।

प्रहरीले नागरिकलाई सचेत गर्नको लागि निषेध क्षेत्र लेखिएको पेपर टाँसिएको स्थानीय पत्रकार देवराज यादवले बताउनुभयो । आइतबारको बिहानैदेखि सोमबार बिहानसम्म कोशी पुलमा जल भर्नको लागि विभिन्न ठाउँबाट आएको भक्तजनहरूले कोशीपुलमा जल भरेर विभिन्न ठाउँको भोलेनाथ, शिव मन्दिरमा जल अपूर्ण गर्न जाने गरेका छन् ।