• २० साउन २०८१, आइतबार

चीनद्वारा घरायसी खपत बढाउने योजना जारी

blog

फाइल तस्बिर

बेइजिङ, साउन २० गते । चीनले घरेलु खपत बढाउने उद्देश्यले निर्देशनहरूको सूची जारी गरेको छ । विश्वको दोस्रो ठुलो अर्थतन्त्रमा न्यून घरेलु खपतले विकासलाई कमजोर बनाएको छ । सूचीमा बालबालिका र वृद्धहरूको हेरचाह तथा खाद्यान्न र पेय पदार्थलगायतका क्षेत्रलाई लक्षित गरिएको छ । 

सत्तारुढ कम्युनिष्ट पार्टीका शीर्ष अधिकारीहरूको भेलापछि राष्ट्रपति सी जिनपिङलगायतका नेताहरूले गत महिना घरेलु खपत बढाउन र चीनको कमजोर रियल स्टेट क्षेत्रमा दबाब कम गर्न सहयोग गर्ने वाचा गर्नुभएको थियो । चीनको मन्त्रिपरिषद् अर्थात् स्टेट काउन्सिलले शनिबार साँझ आफ्नो वेबसाइटमा २० वटा सामान्य निर्देशनहरूको सूची प्रकाशित गरेको थियो । 

प्रस्तावित बजेट समावेश नभएको योजनाले अधिकारीहरूलाई ‘वृद्धहरूका लागि हेरचाह सेवाहरूको आपूर्ति बढाउन’ आग्रह गरेको छ । शिक्षाको उच्च लागत र सामाजिक लाभहरूको अभावका कारण थोरै युवाहरूले बच्चा जन्माउने विकल्प छनोट गर्ने भएकाले योजनाले बालबालिका हेरचाह सेवाहरूको विकासको पनि आह्वान गरेको छ । 

दस्ताबेजअनुसार तीन वर्षभन्दा मुनिका बालबालिका र ज्येष्ठ नागरिकहरूको हेरचाहको लागतलाई पनि आयकरमा कटौतीको योजना बनाइएको छ । बेइजिङले सेवा क्षेत्रमा विशेष गरी बैङ्कहरूबाट योग्य साना व्यवसायहरूले ठुलो आर्थिक सहायताबाट लाभ हासिल गर्न सक्ने कुरा सुनिश्चित गर्ने वाचा गरेको छ । 

गत महिना प्रकाशित आधिकारिक तथ्याङ्कअनुसार चीनले यस वर्ष ‘करिब पाँच प्रतिशत’ कूल गार्हस्थ्य उत्पादन (जिडिपी) वृद्धिको लक्ष्य राखेको छ । यद्यपि दोस्रो त्रैमासिकमा उसको वृद्धि वार्षिक आधारमा द्रुतरूपमा घटेर चार दशमलव सात प्रतिशत भएको छ । रियल स्टेटमा लामो समयदेखि जारी ऋण सङ्कटले जिडिपी वृद्धि प्रभावित भएको छ । रियल स्टेट क्षेत्र जिडिपीको एक चौथाइ हिस्सा हो । रासस/एएफपी