• १२ मंसिर २०८१, बुधबार

प्रधानमन्त्री र मन्त्रीले कामलाई पहिलो प्राथमिकता दिनुपर्छ : महामन्त्री शर्मा

blog

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा

काठमाडौँ, साउन २० गते। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री र मन्त्रीले कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउनुभएको छ। आइतबार नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित प्रजातन्त्र सेनानी सङ्घको प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले प्रधानमन्त्री र मन्त्रीले भाषणलाई दोस्रो र पहिलो प्राथमिकता कर्मलाई दिनुपर्ने बताउनुभयो। उहाँले इतिहासमा बोली नभई कर्म बिक्ने बताउनुभयो। उहाँले नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा बनेको संविधान सबै नेपालीले बुझेको जिकिर गर्नुभयो। 

उहाँले अहिलेको सरकारसँग नागरिकलाई धेरै अपेक्षा रहेको भन्दै नागरिकका अपेक्षालाई सम्बोधन गर्न आग्रह गर्नुभयो। उहाँले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर पारित गर्नुपर्ने बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘‘तपाईँहरूको निर्णयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय पनि आओस्। अहिले मैले यहाँ उभिएर भन्दै गर्दा प्रधानमन्त्री र मन्त्रीज्यूलाई मिडियाका साथीहरू पनि यहाँ हुनुहुन्छ। इतिहासमा बोली होइन कर्म बिक्छ। सुशील कोइराला जिब्रोको क्यान्सरको अप्रेसनको कारण बोली राम्रो बुझिएन। तर सुशील कोइरालाको नेतृत्वमा लेखिएको संविधान त देशले बुझ्यो। त्यसैले अहिलेको सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले, अहिलेको मन्त्रिपरिषद्का मन्त्रीले बोल्ने कुरालाई दोस्रो प्राथमिकता र कर्मलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ। उहाँहरूले गरेको कर्मले बोल्नुपर्छ। नागरिकलाई यो सरकारसँग धेरै अपेक्षा छ। नागरिकसँगको अपेक्षालाई सम्बोधन गर्ने कुरामा सरकार गम्भीर बन्नुपर्छ। सरकारले ती विषयलाई सम्मान गर्नुपर्छ। कहिले दिने हो हामीले प्रदेशलाई अधिकार दिने विधेयक संसदमा ल्याएर त्यसलाई अघि बढाउनुपर्छ।’’ 

महामन्त्री शर्माले भ्रष्टाचारका सम्बन्धमा रहेका मुद्दाहरूमा निष्पक्ष छानबिन गर्नुपर्ने बताउनुभयो।