• ३ माघ २०८१, बिहिबार

प्राचीन मठेश्वरनाथ मन्दिर

पुरानो शैलीमा पुनर्निर्माण गर्न थप अनुसन्धान

blog

प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा थप अनुसन्धान गर्दै पुरातत्व विभागका सिनियर इन्जिनियर टोली । तस्बिर : विजयकुमार साह

विजयकुमार साह 

ढल्केबर, साउन २० गते । धनुषाको सबैला नगरपालिका–६, गोविन्दपुरमा प्राचीन मठेश्वरनाथ मन्दिर भनिएको स्थानको पुरातत्व विभागका सिनियर इन्जिनियरको टोलीले थप अध्ययन अनुसन्धान गरेको छ । पुरातत्व विभागका सिनियर इन्जिनियर पूर्वबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय टोलीले प्राचीन शैलीमा मन्दिर पुनर्निर्माण गर्न अध्ययन अनुसन्धान गरेको हो । 

सिनियर इन्जिनियर श्रेष्ठले भग्नावशेषको अवस्था हेर्दा शिखर शैलीको प्राचीन मन्दिर थियो भन्ने कुरा बुझिएको बताउनुभयो । उहाँले भन्नुभयो, “यसको तल्लो बेस भेटिएको छ । भग्नावशेषका थप ढुङ्गा, गजुर, झ्यालढोका भेटियो भने यसको उचाइ कति थियो भन्ने पत्ता लगाउन सकिन्छ । यति निकाल्न सक्यौँ भने हुबहु नभए पनि लगभग उस्तै शैलीको बनाउन सकिन्छ ।” गैँडाकोटमा भेटिएको प्राचीन कैलाश शिवमन्दिर र सर्लाहीको मुर्तियामा भेटिएको शिवमन्दिरको संरचनासँग करिब मेल खाइरहेको इन्जिनियर श्रेष्ठको भनाइ छ । 

यसअघि त्यस ठाउँमा असार ७ देखि २० गतेसम्म पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालसहितको तीन सदस्यीय टोलीले भग्नावशेषको उत्खनन गरेको थियो । विलुप्त भइसकेको प्राचीन मठेश्वरनाथको मन्दिर पहिचान गर्न सबैला नगरपालिकाले पुरातत्व विभागद्वारा उक्त स्थानमा उत्खनन गर्न लगाएको थियो । उत्खननका क्रममा आठौँ/नवौँ शताब्दीतिरका लिच्छविकालीन अवशेष भेटिएको थियो । 

पुरातत्व विभागका पुरातत्वविद् प्रकाश दर्नालले उत्खननका क्रममा भेटिएका शिलालेख तथा बुट्टालगायतका अवशेष लिच्छविकालीन बेलाको हुन सक्ने बताउनुभयो । विलुप्त भइसकेको प्राचीन मठेश्वरनाथ मन्दिर यही नै हो भनेर अहिले ठ्याक्कै भन्न नसकिने बताउँदै उहाँले अध्ययन अनुसन्धानको काम चलिरहेकाले अन्तिम अध्ययन सकिएपछि निष्कर्ष आउने जानकारी दिनुभयो । मिथिला सभ्यताको समयमा राजा जनकले मिथिलाको राजधानी जनकपुरधामको समदुरीमा चार वटा मठ निर्माण गर्नुभएको थियो । महोत्तरीको जलेश्वरमा जलेश्वरनाथ, धनुषाको छिरेश्वरमा क्षीरेश्वरनाथ, धनुषाकै गोविन्दपुरमा मठेश्वरनाथ र भारतको कल्नामा कल्याणेश्वरनाथ मन्दिरको निर्माण गर्नुभएको थियो । त्यसमध्ये जलेश्वरनाथ, क्षीरेश्वरनाथ र कल्याणेश्वरनाथ मन्दिर आज पनि छ भने मठेश्वरनाथ मन्दिर विलुप्त भइसकेको छ । त्यो मन्दिर यही हुन सक्ने स्थानीयको अनुमान छ । 

पुरातत्व विभागले उत्खनन गरेको स्थानमा प्राचीन मठेश्वरनाथ मन्दिर रहेको स्थानीयको दाबी छ । यस मन्दिरका बारेमा मिथिला महात्म्यमा समेत उल्लेख गरिएको पाइन्छ । स्थानीय सत्यनारायण मण्डलले २०३३/३४ सालतिर धनुषाका एक जमिनदार हेमबहादुर मल्लका भतिज झोपे मल्लले मन्दिर र मन्दिर क्षेत्रमा खन्न लगाएको बताउनुभयो । उहाँले आफू पनि १२/१३ वर्षको उमेरमा दैनिक पाँच रुपियाँ ज्याला लिएर खन्ने काम गरेको बताउँदै बहुमूल्य वस्तु भेटिने लोभले झोपेले मन्दिर खन्न लगाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “त्यतिखेर यहाँबाट के भेटियो भेटिएन त्यो हामीलाई थाहा भएन तर मन्दिरको संरचना ध्वस्त बनायो ।” मठेश्वरनाथ मन्दिर भनिएको स्थानमा अहिले पनि ठुलठुला ढुङ्गा छरपस्ट अवस्थामा छन् । गाउँका कतिपयले सिलौटा बनाउन तथा अन्य प्रयोगका लागि यहाँबाट ढुङ्गा लगिसकेका छन् । सोही मन्दिरको दक्षिणपूर्वमा एउटा इनार थियो । पुरातत्व विभागले सो उत्खनन गर्न लगाएको छ । त्यस्तै मन्दिरभन्दा पश्चिममा एउटा पोखरी थियो । त्यो पोखरी पनि अहिले पुरिएर खेतमा परिणत भएको छ । 

सबैला नगरपालिकाका नगरप्रमुख कारिराम यादवले यस ठाउँमा मठेश्वरनाथको मन्दिर रहेको विश्वासमा पुरातìव विभागबाट उत्खनन गर्न लगाएको बताउनुभयो । यहाँ भेटिएका अवशेषको संरक्षण गर्दै यस ठाउँमा मन्दिर पुनर्निर्माण गरेर धार्मिक पर्यटन क्षेत्रका रूपमा विकास गर्ने उहाँले जानकारी दिनुभयो ।