• २० साउन २०८१, आइतबार

अमेरिकामा हत्या, नेपालमा शोक

blog

अमेरिकामा गोली लागेर ज्यान गुमाएका दीपक ओली ।

मुसीकोट समाचारदाता

रुकुमपश्चिम, साउन २० गते । रुकुमपश्चिमको बाँफीकोट गाउँपालिका–१०, सेजे गाउँका ५२ वर्षीय लीलाराम ओलीको घरमा हप्ता दिनदेखि आगो बलेको छैन । नातिनी पढाउन दाङ बसेकी बुहारी, काठमाडौँमा पढ्न गएको कान्छो छोरा, बिहे गरेर गएकी छोरी घरमा आइपुगेका छन् । आँगनमा गाउँलेहरूको पनि आउजाउ निरन्तर छ तर घरमा सन्नाटा छ, परिवार मात्र होइन, गाउँ नै शोकमग्न छ । 

अमेरिका गएको ३० वर्षीय जेठा छोरा दीपक ओलीको गत आइतबार बिहान गोली लागेर हत्या भएको खबरपछि उहाँको घरपरिवार शोकाकुल बनेको छ । टेक्सासस्थित वेको सिटीनजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्यास स्टेसनमा कार्यरत दीपकलाई बन्धुकधारी लुटेरा समूहले गोली हानेका थिए । ग्यास स्टेसनलाई लुटिनाबाट जोगाउन लागेका दीपकको घटनास्थलमै प्राण गएको खबरले आफन्तजन र गाउँले विक्षिप्त छन् । 

८० लाख साहुको ऋण, डेढ वर्षको अवैध तथा जोखिमपूर्ण बाटोको यात्रा पार गरेर गत वर्ष दीपक अमेरिका पुगेका थिए । मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपकले २०७९ मङ्सिरमा घर छोडेको डेढ वर्ष लगाएर अमेरिका पुगेको जानकारी दिनुभयो । 

बन्दुकधारी लुटेराले गोली हानेर हत्या गरेको र शव पोस्टमार्टमका लागि अस्पताल लगिएको त्यहाँस्थित आफन्तजनले खबर गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अझैसम्म अस्पतालले शव आफन्तलाई दिएको छैन । दीपकको शव नेपाल ल्याउन मुस्किल हुने भएकाले उतै अन्त्येष्टि गरिने भएको छ ।   

जेठो छोरा गुमाएका लीलारामलाई छोरा पठाउँदा लागेको ऋणले झन् थला पार्ने अवस्था छ । सुरुमा ४० लाख जति लाग्ला भनेर बैना बुझेको दलालले बाटोमा लामो समय लागेको, जहाज चढ्नु परेको, खाना र बस्नमा बढी खर्च लागेको भन्दै चाँडै पुग्ने भए पैसा थप्ने भनेपछि फेरि साहु ऋण गरेको पैसा ८० लाखसम्म पुगेको छ । 

परिवारको थाप्लोमा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ । छोराको मृत्युपछि विछिप्त बनेका बुवालाई ऋणको भारी कसरी चुक्ता गर्ने भन्ने अर्को पीर थपिएको छ ।

गत वर्षको जाजरकोट भूकम्पले उहाँको घर भत्काइदिएको थियो । जसोतसो बाख्रापालन गरेर बसेका लीलाराम अहिले के विपत्ति आइप¥यो भन्दै बिलौनामा डुब्नुभएको छ । दीपक दुई वर्षकै छँदा उहाँकी आमाको मृत्यु भएको थियो । पछि बुवाले आमाकी बहिनीलाई बिहे गर्नुभयो । सानीआमा प्रतिभा ओलीकै स्याहार र ममतामा दीपक हुर्किनुभएको थियो । 

वडाध्यक्ष हरि चन्दले दीपकको हत्याको खबरपछि गाउँ नै शोकमा रहेको बताउनुभयो । परिवारको अवस्था दयनीय भएको र सम्झाइबुझाई गर्ने काम भइरहेको उहाँले जनाउनुभयो । वडा कार्यालयको पहलमा अहिले मृतकका परिवारको राहतका लागि रकम सङ्कलनसमेत सुरु गरिएको उहाँले जानकारी दिनुभयो ।