• १० मंसिर २०८१, सोमबार

हेक्पा खोलामा काठे पुल निर्माण भएपछि सिमकोट हिल्सा सडक सुचारु

blog

नयाँ निर्माण गरिएको हेक्पा खोलामा काठे पुल । तस्बिर : राजन रावत

राजन रावत

हुम्ला, साउन २० गते । अवरुद्ध हुँदै आएको सिमकोट हिल्सा सडक शनिवार बेलुकाबाट सुचारु भएको छ । उक्त सडक खण्डको हेक्पा खोलामा बाढीले बगाएको काठे पुलको पुनर्निर्माण कार्य भएपछि अवरुद्ध हुँदै आएको यातायात सेवा सुचारु भएको हो । 

हिल्सा सिमकोट सडक आयोजनाका इन्जिनियर ओम प्रकाश कोहराले सिमकोट हिल्सा सडक अवरुद्ध भएको ३२ दिनपछि सञ्चालनमा आएको बताउनुभयो । गत असार २० गते परेको अविरल वर्षाले खोलामा आएको बाढीले यसअघि निर्माण गरिएको काठे पुल बगाउँदा त्यसयता यातायात सेवा अवरुद्ध हुँदै आएको थियो । यसबाट नाम्खा गाउँपालिका, चीनको ताक्लाकोट रोजगारी  र ब्यपार व्यवसायका लागि जाने स्थानीयले पैदल जानु पर्ने अवस्था थियो । सपना धुलिखेल जेभीले सो काठे पुल दुई हप्ता भन्दा बढी समय लगाएर निर्माण कार्य पुरा गरेको हो । पुल निर्माणसँगै यातायात सेवा सुचारु भएको छ ।

पच्चीस मिटर लम्बाइ र साँढे चार मिटर चौडाइ काठे पुल रहेको छ । त्यो सँगै पुलका पश्चिमपट्टिको भागमा पहिरोबाट पुललाई बचाउन ग्याविन लगाउने कार्य समेत भएको छ । हेक्पा खोलामा बगाएको काठे पुललाई पुनर्निर्माण गर्ने निकायले बजेटको कारण देखाउँदै निर्माण गर्न नमानी रहेको अवस्थामा जिल्ला बिपद व्यवस्थापन समितिको बैठकले निर्णय गरेर आयोजना र पूर्वाधार विकास कार्यालयलाई लागत साझेदारीमा तत्काल काठे पुल निर्माण गर्ने निर्णय गरेको थियो । हाललाई निर्माण कम्पनीले काठे पुल उधारोमा निर्माण गरेको भए पनि पछि काठे पुल निर्माण कार्यका लागत निकाली सकेपछि दुवै कार्यालयले आधा आधा बजेटको व्यवस्था गर्नु पर्नेछ ।

हेक्पा खोलाको काठे पुल तर्दै गर्नु भएको चालक पुरन रावतले पुल निर्माण कार्यले हिल्सातर्फ जान सहज भएको बताउनुभयो । सिमकोट हिल्सा सडक खण्डमा दैनिक चालीसदेखि पैँतालीस वटा सवारी साधनहरू सञ्चालन हुने गर्छन् । उक्त खोलामा यसअघि दुई पटक काठे पुल निर्माण गर्ने कार्य भई सकेको छ । अब सोही खोलामा पक्की पुलको निर्माण कार्य पनि अन्तिम चरणमा रहेको छ ।