सिन्धुली समाचारदाता
सिन्धुलीमाढी, साउन २० गते । सिन्धुली जिल्लामा राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तारका क्रममा गाडिएका जीर्ण बनेका काठको पोल (खम्बा) नहटाउँदा जोखिम बढ्दै गएको छ ।
विद्युत् विस्तारका क्रममा बर्सौंअघि नेपाल विद्युत् प्राधिकरणले गाडेका काठका पोल यतिखेर कुहिएर, मक्किएर र धमिराले खाएर जीर्ण बनी ढल्ने अवस्थामा पुग्दा जोखिम बढ्दै गएको स्थानीयको गुनासो छ ।
कमलामाई नगरपालिका–४, मल्लागाउँका केदार अधिकारी आफ्नो घरको आँगनअगाडि बिपी राजमार्गछेउमा विद्युत् विस्तारका क्रममा १० वर्षअघि गाडेको काठको पोल हटाउन विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्रलाई पटक पटकभन्दा सुनुवाइ नभएको गुनासो गर्नुहुन्छ । उहाँले भन्नुभयो, “कति पटक भन्नु मुख नै दुखिसक्यो । पोल जीर्ण बनी ढल्ने अवस्थामा पुगेको छ । कतिखेर दुर्घटना बेहोर्नुपर्ने हो । काठको पोल हटाएर फलामको पोल गाडिदिए सधैँलाई ढुक्क हुने थियो ।”
विद्युत् प्राधिकरणले जिल्लाका ग्रामीण क्षेत्रमा समेत फलाम र सिमेन्ट पोलको अभावमा सुरुका वर्षमा काठको पोल गाडेर विद्युत् विस्तार गरेको स्थानीय बताउँछन् । जिल्लाका नौ वटा स्थानीय तहको अधिकांश ठाउँमा यो वर्षसम्म राष्ट्रिय विद्युत् प्रसारण लाइन विस्तार भएको छ । सुगम ठाउँभन्दा दुर्गम ठाउँमा काठको पोल प्रयोग गरी विद्युत् विस्तार गरिएको थियो । स्थानीय तह गठनअघि तत्कालीन गाविस र जिविसले समेत बजेट लगानी गरी काठको पोल खरिद गरी विद्युत् विस्तार गरेकाले यतिखेर समस्या आएको कमलामाई नगरपालिका–३ का पूर्वजनप्रतिनिधि (साबिक गाविस अध्यक्ष) राजन अधिकारी बताउनुहुन्छ । उहाँले भन्नुभयो, “त्यतिबेला उपभोक्ताको माग विद्युत् विस्तार पहिलो प्राथमिकता थियो । हामीले पनि त्यही अनुसार काम ग¥यौँ र बत्ती बाल्ने काम भयो । अहिले तिनै काठको पोल समस्या बनेर आएको छ । प्राधिकरणले क्रमशः हटाउँदै पनि गएको देखिन्छ ।”
विद्युत् प्राधिकरणका अनुसार जिल्लाका विभिन्न भागमा गरी यतिखेर दुई हजार ७९० वटा काठको पोल फेर्न बाँकी छ । गत आर्थिक वर्ष २०८०/८१ मा विभिन्न ठाउँका ७१० थान काठको पोल विस्थापित गरी फलामको पोल गाडिएको छ । केन्द्रका सूचना अधिकारी तथा इन्जिनियर शत्रुघन साह गत आवमा काठको पोल हटाई फलामको पोल गाड्न डेढ करोड रुपियाँ बजेट माग गरिएकोमा त्यति बजेट नआएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “पहिले फलामे पोल पर्याप्त आउँदैनथ्यो । टिम्बर कर्पोरेसन हुँदा ट्रिटमेन्ट गरेको काठको पोल आउँथ्यो । त्यो अरू काठको पोलभन्दा दह्रो हुन्थ्यो । अहिले त्यो संस्था छैन । जस्तो पायो, उस्तै काठको पोल गाड्दा समस्या भएको छ ।” अहिले प्राधिकरणले काठका पोललाई क्रमशः हटाउँदै गएको उहाँको भनाइ छ । जिल्लाका ग्रामीण क्षेत्रबाट काठका पोल धराप हुँदासमेत त्यसलाई फरिएको छैन । जिल्लाभर प्राधिकरणको कुल ग्राहक सङ्ख्या ५८ हजार ५४९ रहेको केन्द्रले जनाएको छ ।