• १४ मंसिर २०८१, शुक्रबार

साढे दुई वर्षदेखि अङ्ग्रेजी शिक्षक इजरायलमा

blog

चित्र मिजार 

सिन्धुपाल्चोक, साउन २० गते ।  सुनकोशी गाउँपालिका–६, थुम्पाखरको महेन्द्रोदय माध्यमिक विद्यालयका अङ्ग्रेजी विषयका शिक्षक साढे दुई वर्षदेखि इजरायलमा रोजगारीका क्रममा उतै रहेपछि अध्यापन प्रभावित भएको छ । उक्त विद्यालयका स्थायी शिक्षक प्रदीप खड्का साढे दुई वर्षअगाडि स्वास्थ्यमा समस्या देखाउँदै बेतलबी बिदा लिई इजरायलमा रोजगारी जानुभएको थियो । उहाँ विद्यालयसँग दुई वर्षको बिदा स्वीकृत गरी इजरायलमा हुनुहुन्छ । उहाँको सट्टामा विद्यालयले लियन शिक्षकबाट अङ्गे्रजी पठनपाठन गराइरहेको छ तर अङ्ग्रेजी विषयमा यस वर्षको एसइईमा सबैभन्दा बढी अनुत्तीर्ण भएका छन् ।

थापा एक वर्ष बेतलबी बिदामा बस्न विद्यालयमा निवेदन दिई पुनः इजरायल जानुभएको छ तर विद्यालय व्यवस्थापन समितिले थापालाई पुनः बिदा नदिने निर्णय गरेको छ । दुई वर्ष असाधारण बिदामा बस्नुभएका थापालाई तेस्रो वर्ष बिदा स्वीकृत नदिने निर्णय गरेको विद्यालय व्यवस्थापन समितिका सदस्य बाबुराम कार्कीले जानकारी दिनुभयो ।

केही समय घरमा आएका शिक्षक थापालाई प्रधानाध्यापक कृष्णप्रसाद दङ्गालको सहजीकरणमा गत फागुन ९ देखि २२ गतेसम्म विद्यालयमा हाजिर गराएर उहाँ पुनः इजरायल जानुभएको हो । लियन शिक्षक हटाउने र दरबन्दीवाला शिक्षक विद्यालयमा हाजिर नहुँदा शिक्षण गतिविधि प्रभावित भएको कार्कीले बताउनुभयो । थापा नेपाल आएका समयमा शिक्षा विकास तथा समन्वय एकाइमा बिरामी पुर्जासमेत राखेर बिदा स्वीकृतिका लागि पत्र छाडेको उक्त कार्यालयले जनाएको छ तर विद्यालयले कुनै पनि निर्णय नगरेकाले थापाको निवेदन दर्ता मात्रै गरेर राखेको एकाइ प्रमुख कृष्णप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले बिदा स्वीकृत गरी अर्को शिक्षक राख्नुपर्ने वा अवकाशको प्रक्रियामा लैजाने निर्णय गर्नुपर्ने हुन्छ । साढे दुई वर्ष थापा विद्यालयमा अनुपस्थित भएपछि विद्यालयले सुनकोशी गाउँपालिकालाई शिक्षक व्यवस्थापनका लागि निवेदनसहित लिखित अनुरोध गरेको छ ।