शालिग्राम नेपाल
चितवन, साउन २० गते । भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘ मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गर्दा घाइते भएका छन् ।
बिहान करिब ५ः२० बजेको समयमा पैदल हिँडेका भरतपुर–२ बेलटाँडी बस्ने ६० वर्षीय पशुपति श्रेष्ठलाई एक्कासि बाघले आक्रमण गरेको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।
बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको मुख र हातमा चोट लागेको छ । स्वास्थ्य अवस्था मध्यम रहेको अस्पतालले जानकारी दिएको छ । बाघको खोजी तथा नियन्त्रणको लागि जिल्ला वन कार्यालयबाट कर्मचारीहरू खटिएका छन् ।