• १८ साउन २०८१, शुक्रबार

राज्यमन्त्री चौधरीद्वारा पदभार ग्रहण

लुम्बिनी विकास कोष ऐन परिमार्जन गर्न समिति गठन

blog

पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले शुक्रबार पदभार ग्रहण गर्दै ।

काठमाडौं, साउन १८ गते । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण कुमार चौधरीले शुक्रबार पदभार ग्रहण गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएसँगै चौधरीले मन्त्रालय पुगेर पदभार ग्रहण गर्नु भएको हो । 

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार नै चौधरीसहित ३ जना राज्यमन्त्री नियुक्त गर्नुभएको थियो । 

राज्यमन्त्री चौधरीले लुम्बिनी बिकास कोष ऐन २०४२ लाई परिमार्जित गर्न समिति गठन गर्ने निर्णय गरेका छन् । देशकै पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण मानिएको लुम्बिनी विकास  कोषलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि ऐन परिमार्जित गर्नुपर्ने भएकाले समिति गठन गरेर अघि तत्काल आवश्यक प्रक्रिया अघि बढाउने तयारी गरिएको राज्यमन्त्रीको सचिवालयले जनाएको छ ।

नवनियुक्त राज्यमन्त्री चौधरी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट कैलाली क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुनुहुन्छ । उहाँले नेकपा (एमाले) का  झपट बहादुर रावललाई पाँच हजार ७४३ मतान्तरले पराजित गर्नुभएको थियो । 

२२ वर्षको उमेरमा २०६२–०६३ को जनआन्दोलनबाट आफ्नो राजनीतिक यात्रा सुरु गर्नुभएका चौधरी २०७४ सालमा कैलालीकै लम्किचुहा नगरपालिकाको प्रमुख र २०७४ सालमै प्रदेशसभा सदस्य पदको पनि उम्मेदवार बन्नु भएको थियो । तर विजयी हुन सक्नु भएन । 

उहाँले अधिकार र प्रचलित  कानुन अनुसार सम्बन्धित सबैसँग सकारात्मक कामका लागि हातेमालो गर्दै  इमान्दारपूर्वक आम जनताका पक्षमा वफादार भएर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।