• ८ मंसिर २०८१, शनिबार

आधुनिक ओलम्पिकको पूर्ववर्ती मच वेनलक खेल

blog

प्राचीन ओलम्पिक खेल मुख्यतया शासक वर्गको युद्ध समाप्तपछिको उत्सव र युद्धको तयारीका सन्दर्भमा हुन्थ्यो । रोमनहरूले बन्द गरिदिएको ओलम्पिकको आधुनिक यात्रा एकै दिनको प्रयासले सम्भव भएको थिएन । यसमा शृङ्खलाबद्ध घटनाक्रम र अनेक व्यक्तिको योगदान रहेको छ । ग्रिसमा प्राचीन ओलम्पिकको जन्म भयो तर ओलम्पिकको आधुनिक यात्रा सुरु गर्नमा युरोपको मुख्य योगदान रहेको छ ।   

विशेष गरी फ्रान्स र इङ्ग्ल्यान्डमा भएका खेल गतिविधिले ओलम्पिकलाई पुनर्जीवित गराएका हुन् । फ्रान्सका पियरे डी कुबर्टिनलाई आधुनिक ओलम्पिकको जन्मदाता मानिएको छ तर उनको एकल प्रयासले मात्र यो सम्भव भएको थिएन । धेरै वर्षदेखि ओलम्पिक नामबाट भइरहेका खेल गतिविधि र विभिन्न व्यक्तिको ओलम्पिक फेरि सुरु गर्ने चाहनाले कुबर्टिनको परिकल्पनालाई मूर्त रूप लिन बल पुगेको थियो । 

ओलम्पिक थालनीका लागि खासगरी कुबर्टिनले दरो कदम चाल्नुपूर्व नै इङ्ग्ल्यान्डमा ओलम्पिक केन्द्रित खेल गतिवधि सुरु भइसकेका थिए । त्यहाँको ग्लुसेस्टरसायरमा अवस्थित कोट्सवल्डमा सन् १६१२ मा रोबर्ट डोभरले ओलम्पिक खेलको नयाँ स्वरूप सुरु गर्दै त्यसमा तास खेल, बुद्धिचाल र नृत्य प्रतिस्पर्धाका साथै दौड, जम्प, ह्यामर थ्रो, कुस्ती र घोडा दौडलाई समावेश गरेका थिए । १८ औँ शताब्दीमा क्याम्ब्रिज विश्वविद्यालयका विद्यार्थीले एक प्रकारको ओलम्पिक खेलको आयोजना गरे तर प्रतियोगिता कहिले आयोजना भयो र कुन कुन खेल समावेश गरिएका थिए भन्ने स्पष्ट छैन ।

ओलम्पिक पुनः सुरु गर्ने अवधारणा १९ औँ शताब्दीमा इङ्ग्ल्यान्डमै बनेको थियो । सन् १८३२ मा चेल्सी रङ्गशालामा एक ओलम्पिक उत्सवका रूपमा सामन्त डी बिरेन्जरले खेल आयोजना गरेपछि सन् १८३८ मा उनीद्वारा नै अर्को खेल प्रतियोगिता आयोजना गरिएको थियो । जसमा आर्चरी, जिम्न्यास्टिक, क्रिकेट, फेन्सिङ, रोइङ, सेलिङ र सुटिङ खेल समावेश गरिएका थिए । 

तर सन् १८५० मा क्याउपसयरको मच वेनलकमा सुरु भएको वार्षिक ओलम्पिक उत्सवको ओलम्पिक खेललाई पुनर्जीवित पार्नमा विशेष महत्व रह्यो । खेल उत्सवको आयोजना विलियम ‘पेनी’ ब्रुकले गरेका थिए र क्रिकेट, बाधा दौड, जम्पिङ, दौड, फुटबल र कोइट (फलामको चक्का फ्याँक्ने खेल) त्यस उत्सवमा समावेश गरिएको थियो ।

मच वेनलक खेल युवाका लागि आयोजना गरिने भए पनि सात वर्षमुनिका बच्चाको दौड पनि त्यसमा समावेश गरियो । विस्तारै मच वेनलक उत्सव युरोपको अन्य क्षेत्रमा प्रख्यात हुन थाल्यो र जर्मनीबाट जिम्न्यास्टिकका खेलाडी भाग लिन इङ्ग्ल्यान्ड आउन थाले ।

सन् १८६१ मा ब्रुकले श्राउपसायर ओलम्पिक एसोसिएसनको गठन गरेका थिए । त्यसको चार वर्षपछि इङ्ग्ल्यान्डमा राष्ट्रिय ओलम्पिक एसोसिएसनको स्थापना गर्नमा ब्रुकद्वारा स्थापित एसोसिएसनको ठोस योगदान रह्यो । युवा वर्गमा शारीरिक सुगठनप्रति सचेत रहन ब्रुकले सञ्चालन गरेको अभियानको लक्ष्य अन्तर्राष्ट्रिय ओलम्पिकको सुरुवात गर्नु थियो । 

ब्रुकले आफ्नो लक्ष्य प्राप्त गर्न सकेनन् तर सन् १८९० मा  पियरे डी कुबर्टिनसँग उनको भेट ओलम्पिकलाई जीवित पार्नमा महत्वपूर्ण कदम हुन गयो । कुबर्टिन मच वेनलक खेलको र ओलम्पियन सोसाइटीको विषयमा जान्न उत्सुक थिए । युवा कुबर्टिनप्रति ब्रुक धेरै आशावादी भए । खासगरी कुबर्टिनको शारीरिक शिक्षा र अन्तर्राष्ट्रिय ओलम्पिक उत्सवको अवधारणाले ब्रुक धेरै प्रभावित भएका थिए ।

सन् १८६३ मा जन्मिएका कुबर्टिन फ्रान्स–पर्सियाबीच सन् १८७०–७१ मा भएको विनाशकारी युद्धकालमा हुर्किएका थिए । त्यस युद्धमा फ्रान्सको हारको कारण दोषपूर्ण शैक्षिक प्रणालीले गर्दा युवामा शारीरिक र आत्मिक ज्ञानको अभाव रहनु हो भन्ने निष्कर्ष कुबर्टिनको थियो । युवा अवस्थामा बक्सिङ, फेन्सिङ र रोइङका खेलाडी कुबर्टिनले विशेष रूपमा शारीरिक शिक्षामा केन्द्रित रहने गरी आफ्नो जीवनलाई शिक्षामा समर्पित गर्ने अठोट गरी उनले इङ्ग्ल्यान्डको भ्रमण पटक पटक गरी त्यहाँ सार्वजनिक विद्यालयमा खेल प्रयोगको तौरतरिका अध्ययन गरे । यही उद्देश्य लिएर कुबर्टिनले अमेरिकाको भ्रमण पनि गरेका थिए ।

सन् १८८९ मा कुबर्टिनले पेरिसमा शारीरिक शिक्षा विषयमा सम्मेलनको आयोजना गरे र अर्को वर्ष ओलम्पियन सोसाइटीका बारेमा कुरा गर्न ब्रुकलाई भेट्नका लागि कुबर्टिनले मच वेनलकको भ्रमण गरेका थिए । त्यस भेटघाटले ओलम्पिकलाई अन्तर्राष्ट्रिय खेल उत्सवका रूपमा जीवित पार्ने अवधारणा बनायो र सन् १८९२ देखि कुबर्टिनले त्यस अवधारणामाथि खुला बहस नै चलाउन सुरु गरे तर उनले धेरै आकर्षण प्राप्त गर्न सकेनन् । आफ्नै देश तथा इङ्ग्ल्यान्ड र अमेरिकामा समेत आफ्नो अवधारणाले प्रभाव जमाउन नसके पनि कुबर्टिनले हरेस खाएनन् । 

सन् १८९४ को जुन २३ मा कुबर्टिनको अध्यक्षतामा १२ देशका ७९ जना प्रतिनिधिको उपस्थितिमा एक बैठक भयो र त्यस बैठकले ओलम्पिक खेललाई पुनस्र्थापित गर्ने सर्वसम्मत निर्णय गरेको थियो । जसको परिणामस्वरूप अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको गठन त्यसै वर्ष भयो । यस कमिटीको मातहत सन् १८९६ मा आधुनिक ओलम्पिकले एथेन्सबाट नयाँ युग सुरु गरेको थियो । 

सन् १८५९ र १८७० मा गरी दुई पटक ग्रिसमा ओलम्पिकलाई पुनर्जीवित गर्ने प्रयास भएको थियो तर सफल हुन सकेन । तैपनि रोमन सम्राट थियोडोसिसले बन्द गरेको ओलम्पिकको आधुनिक यात्राको प्रारम्भ गर्ने अवसर एथेन्सलाई दिने निर्णय अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले ग¥यो । कुबर्टिन चाहिँ ओलम्पिकको सुरुवात सन् १९०० मा पेरिसबाट गर्ने विचारमा थिए ।

सन् १८९४ मा पियरे डी कुबर्टिनको प्रयासमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को स्थापनापछि ओलम्पिकले नयाँ जीवन मात्र पाएन आधुनिकतामा पनि ढल्यो । खेलमा व्यापारीकरण हुने सम्भावनाले चिन्तित कुबर्टिनले  ओलम्पिकमा गैरपेशेवर खेलाडीलाई मात्र खेल्न दिने अवधारणा  अगाडि सारेका थिए । 

–युवामञ्च