• १८ साउन २०८१, शुक्रबार

गोरखामा एक घर बगायो, ११ घर उच्च जोखिममा

blog

गुणबहादुर रोका 

सुलीकोट, साउन १७ गते । बुधवार राती आएको भीषण वर्षाले एक घर बगाएको छ भने ११ घर उच्च जोखिममा परेको छ । धार्चे गाउँपालिका – ५ सिङ्लास्थित पुरन गाउँमा घर माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले तेज बहादुर गुरुङको घर बगाएको छ भने सिङ्ला बस्ती नै उच्च जोखिमामा परेको हो । 

 धार्चे गाउँपालिका – ५ सिङ्लास्थित पुरन गाउँका तेज बहादुर गुरुङको घरमा भएका खाद्यान्न, लत्ताकपडा र केही नगद रकम पहिरोमा पुरिएर लाखौँ रुपैयाँको  क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । 

 त्यस्तै पहिरोमा परी लक्ष्मण गुरुङ, खुमबहादुर गुरुङ, इन्द्रबहादुर गुरुङ, मानबहादुर गुरुङ र सुन्दारम गुरुङलगायत ११ घरमा लेदोसहितको पहिरोले पुरिएर उच्च जोखिममा परेको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले जानकारी दिनुभयो । 

उहाँका अनुसार स्थानीय बासिन्दाहरू जोखिम मोलेर त्यस ठाउँमा बस्न बाध्य भएका छन् । आकाशका बादल लाग्नसाथ पहिरोले घर र मान्छे नै पुर्ने हो कि भन्ने डरले स्थानीयहरू खुला चौर र सुरक्षित ठाउँ तर्फ लाग्ने गरेको उहाँले बताउनुभयो । 

रुकांङ डाँडाको आसपासबाट झरेको पहिरोका कारण सिङलाको पुरङ गाउँमा पूर्ण रूपमा क्षति पु र्‍य ाएको स्थानीय राज गोरखाकालीले जानकारी दिनुभयो । १ घर पहिरोमा पुरिएको छ भने अन्य ११ घर पहिरोको उच्च जोखिममा छन् । 

पहिरो परेका ३ जना घाइते भएकाहरूलाई तत्कालै स्थानीयहरूले उद्धार गरी बाँच्न सफल भएको स्थानीयहरूको भनाइ छ । २०७२ सालको भूकम्प पछि रुकाङ डाँडाको पुरङ गाउँको सिरानमा भूकम्पले जमिन चिरा चिरा परेकाले पनि पानी पर्नेबित्तिकै स्थानीयहरू त्रसित हुने गरेका छन् । 

पानी पर्नेबित्तिकै घरमाथिबाट आएको पहिरो गाउँ बस्तीतिर छिर्ने गरेकाले बाढी पहिरो नियन्त्रण गरी जोखिम कम गराउन स्थानीय सरकारको बजेटले पहिरो नियन्त्रण नहुने  भएकाले पनि प्रदेश सरकार सङ्घीय सरकारबाट बजेट व्यवस्थापनका लागि माग गरिएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताउनुभयो । 

एक घर बगाए पनि पहिरो जान सक्ने भन्दै गाउँका स्थानीयहरू सुरक्षित ठाउँमा गएर बसेकाले पनि मानवीय क्षति नभएको धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङकाे भनाइ छ ।