• २७ पुस २०८१, शनिबार

सरकारी जग्गामा बनाइएको चर्च हटाइयो

blog

डोजर लगाएर चर्चलगायतका अवैध संरचना भत्काइँदै ।

धनगढी समाचारदाता 

धनगढी, साउन १७ गते । सरकारी निकायलाई छलेर अस्पताल बनाउने नाममा चर्च र अवैध संरचना बनाइएको पाइएपछि धनगढी उपमहानगरपालिकाले त्यसमा डोजर चलाएको छ । वडा नम्बर ७ स्थित धनगढी मण्डली नामको चर्चसहित अवैध संरचनालाई भत्काइएको हो । 

चर्चको दोस्रो तलामा दुई कोठा, एक भान्सा र दुई चर्पीसहित स्नानकक्ष नक्सा पासबिना निर्माण गरेको पाइएको छ । पेरिमिटर वाल, पोखरी पनि नक्सा पासबिनै बनाइएको छ । चर्चमा निर्माण गरिएको नक्सा पासविपरीतका सबै संरचना भत्काइएको पालिकाका इन्जिनियर सुवास पाठकले जानकारी दिनुभयो । स्थानीयस्तरबाट जनगुनासो बढेपछि उपमहानगरपालिकाको कार्यालयबाट गठित स्थलगत अध्ययन समितिले केही संरचना अवैध रहेको निष्कर्ष निकालेको थियो । समितिले तयार पारेको प्रतिवेदनका आधारमा अवैध संरचना हटाएको जनाइएको छ । 

व्यवसाय र तालिम सेमिनार सञ्चालनका लागि अनुमति लिएको नवनिर्मित दुईतले भवनमा त्योभन्दा फरक कार्य हुन थालेको पाइएपछि वडा कार्यालयले लेट मी इन धनगढी प्रालि र नेपाल लाइफ वल्र्ड मिसनको व्यवसाय दर्ता पनि खारेज गरिदिएको छ । लेट मी इनले नवनिर्मित भवनमा सिपमूलक तालिम तथा परामर्श सेवा सञ्चालनका लागि २०८० साउन २२ गते वडा कार्यालयमा व्यवसाय दर्ता गरेको थियो । त्यस्तै नेपाल लाइफ वल्र्ड मिसनले सेमिनार, तालिम आदि सञ्चालन गर्ने भन्दै २०८१ वैशाख १६ मा वडा कार्यालयमा व्यवसाय दर्ता गरेको थियो । 

यी दुई वटै संस्थाले दर्ता गरेकोभन्दा विपरीत त्यस भवनमा इसाई धर्मावलम्बीको मण्डली सञ्चालन गरिएको पाइएको छ । सरकारी निकाय र आसपासका सर्वसाधारणसमेतलाई झुक्याएर मण्डली सञ्चालन गरिएपछि स्थानीय आक्रोशित बनेका छन् । छालाको अस्पताल सञ्चालन गर्ने भनेर बनाइएको भवनमा चर्च सञ्चालन गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । स्थानीय र मण्डलीका व्यक्तिबिच विवाद बढेपछि अभद्र व्यवहार मुद्दामा कैलाली प्रहरीले मण्डलीका धनगढी उपमहानगरपालिका–८ बस्ने ४७ वर्षीय वीरबहादुर डङ्गौरा, स्याङ्जाको पुतलीबजार नगरपालिका–१ का २४ वर्षीय पुकार विक र सोलुखुम्बु दुधकोशी गाउँपालिका–७ का ३४ वर्षीय प्रेमदोर्जे राईलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सार्वजनिक स्थानमा वादविवाद, हातपात, अभद्र व्यवहार गरेको भन्दै स्थानीय राजेन्द्र चन्दले उनीहरूविरुद्ध प्रहरीमा जाहेरी दिनुभएको थियो ।