• ११ मंसिर २०८१, मङ्गलबार

विदेश पठाउने भन्दै साढे आठ करोड ठगी

blog

लीलाधर वली 

घोराही, साउन १५ गते । वैदेशिक रोजगारीका लागि युएई पठाउने भन्दै काठमाडौँ बस्ने दाङको लमही निवासी दामोदर पोख्रेलले ठगी गरेको भन्दै पाँच जना युवाले सुरक्षित आप्रवासन सामी कार्यक्रम अन्तर्गत जिल्ला प्रशासन कार्यालय घोराहीमा रहेको सूचना परामर्श केन्द्रमा गएको जेठ ६ गते उजुरी दिए ।  घोराही उपमहानगरपालिका–५, भैँसापथ्रा निवासी डम्बर डाँगीको तीन लाख, ओमबहादुर डाँगीको तीन लाख, गोपाल डाँगीको दुई लाख ५० हजार, तुलसीपुर–९, बेलुवाका ओजबहादुर भण्डारीको दुई लाख र सोही ठाउँका वसन्त थापाको एक लाख ९० हजार रुपियाँ ठगी गरेको भन्दै पीडित युवाले उजुरी दिनुभएको थियो । 

विदेश पठाउने भन्दै रकम असुलेका पोख्रेलले हुन्छ हुन्छ भन्दै वर्ष दिनभन्दा बढी झुलाउने र पछिल्लो समय फोन गर्दासमेत नउठाउने गरेपछि उजुरी दिएको पीडित ओमबहादुर डाँगीले बताउनुभयो । रकम लिएपछि सम्पर्कविहीन बनेका दलाल अझै सम्पर्कमा छैनन् । जसले गर्दा छ लाख रुपियाँ डुबेको छ ।  

जापान पठाउने भन्दै विभिन्न व्यक्तिको नाममा पैसा उठाउन लगाएर नौ लाख ५० हजार ठगी गरेको भन्दै तुलसीपुर उपमहानगरपालिका–६, बरुवागाउँका सन्तोष वाइबा तामाङले २०८१ वैशाख २ गते जापान गएकी लक्ष्मी डिसीको नाममा उजुरी दिनुभएको छ । लक्ष्मी डिसीकै नाममा घोराही–७ निवासी नहकुल विकको पनि निवेदन दिनुभएको छ । नहकुलले १४ लाख ५० हजार रुपियाँ ठगी गरेको उजुरीमा उल्लेख गरिएको छ । यो उजुरीमा पनि अझै सहमति हुन सकेको छैन । 

यी दुई उजुरी जिल्ला प्रशासन कार्यालयमा परेका उदाहरण मात्र हुन् । जिल्ला प्रशासन कार्यालय दाङमा रहेको सुरक्षित आप्रवासन कार्यक्रम अन्तर्गत सञ्चालित सूचना तथा परामर्श केन्द्रमा आर्थिक वर्ष २०८०/८१ मा १४२ वटा ठगीका उजुरी परेको सुरक्षित आप्रवासन कार्यक्रमकी सूचना तथा परामर्शकर्ता रिता लामाले जानकारी दिनुभएको छ । उहाँका अनुसार १४२ उजुरीमा २६६ जनाको आठ करोड ७१ लाख ६४ हजार ३५० रुपियाँ ठगी भएको छ । दलालले खाडी मुलुकमा जानेसँगै युरोपका क्रोसिया, रोमानिया, पोर्चुगल, कोरिया, जापान, इजरायललगायतका देशमा पठाउने र राम्रो कमाइ हुने आश्वासन देखाएर ठग्ने गरेको परामर्शकर्ता लामा बताउनुहुन्छ । परामर्शकर्ता लामाले भन्नुभयो, “गाउँमा बेरोजगार बसेका युवालाई वैदेशिक रोजगारीको प्रलोभन देखाउने र पैसा बुझेर फरार हुने गरेको घटना धेरै छन् ।” 

दलालको भर परेर वा नबुझी विदेश जाँदा खाडी मुलुकमा दुई लाखसम्म, क्रोएसिया, पोल्यान्ड, माल्टालगायतका युरोपियन देश जानेले ११ लाख रुपियाँसम्म दिएर ठगिने गरेका छन् । उहाँका अनुसार मन्त्रालयले जारी गरेको कार्यविधिका  आधारमा जिल्ला प्रशासन कार्यालय दाङले गत आर्थिक वर्ष २०८०/८१ साउन महिनादेखि वैदेशिक रोजगारीको उजुरीलाई कार्यालयमै छलफल चलाउने र समाधानको प्रयास थालेको थियो ।