• १५ साउन २०८१, मङ्गलबार

पूर्वमन्त्रीको हत्यामा संलग्न पक्राउ

blog

पूर्व राज्यमन्त्री रामचन्द्र राय यादवको हत्यामा संलग्न व्यक्तिलाई सार्वजनिक गर्दै सर्लाही प्रहरी । तस्बिर ः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, साउन १५ गते । पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र राय यादवको आर्थिक प्रलोभनमा परेर उहाँकै घरमा काम गर्ने सहयोगीले हत्या गरेको खुलेको छ । 

मलङ्गवा नगरपालिका–४ मा बस्दै आउनुभएका ८१ वर्षका रायको पुर्खौली गाउँ चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित घरमा यही साउन ७ गते टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या भएको थियो । पूर्व मन्त्री यादवसँग जग्गाको विषयमा लामो समयदेखि विवाद चल्दै आइरहेको व्यक्तिले दिएको आर्थिक प्रलोभनमा परेर घरमा काम गर्ने युवकले रायको हत्या गरेको पुष्टि भएको हो । 

रायको उहाँकै घरमा काम गर्ने कविलासी नगरपालिका–३, घर भई चन्द्रनगर गाउँपालिका–१, रतनपुर बस्ने २५ वर्षीय राम उजैन रायले हत्या गरेका प्रहरीले जनाएको छ । पूर्व मन्त्री रायसँग जग्गाको विषयमा विवाद चल्दै आएका छिमेकी चन्द्रनगर गाउँपालिका–१, रतनपुरका ४६ वर्षीय वीरेन्द्र रायले रामउजैनलाई दुई लाख रुपियाँ नगद र व्यवसायको लागि एउटा फर्मसमेत बनाइदिन्छु भनी हत्या गर्न लगाएको खुलेको छ । 

सर्लाही प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न सहयोगी रामउजैन र योजनाकार छिमेकी वीरेन्द्रलाई सोमबार साँझ पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । अहिलेसम्मको अनुसन्धानमा वीरेन्द्रको उक्साहट र प्रलोभनमा परेर रामउजैन एक्लैले पूर्व राज्यमन्त्री रायको हत्या गरेको खुलेको सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) रवीन्द्रबहादुर सिंहले जानकारी दिनुभयो । 

साउन ७ गते मध्यरातमा रामउजैन आफैले पूर्व मन्त्री रायको हत्या भएको भन्दै गाउँले र प्रहरीमा खबर गरेका थिए । प्रहरीले घटना लगत्तै रामउजैनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । 

जिल्ला तथा प्रदेश प्रहरी समेतको एक साताको अनुसन्धानपछि पूर्व राज्यमन्त्री रायको हत्यामा संलग्न व्यक्तिलाई सार्वजनिक गरेको हो । प्रहरीले पूर्व राज्यमन्त्री रायको हत्या गर्न प्रयोग गरिएको उखु काट्ने फर्सा (फलामको धारिलो हतियार) समेत बरामद गरेर सार्वजनिक गरेको छ । 

रामउजैन र वीरेन्द्र दुवैलाई सर्लाही जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा १० दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।