राधाकृष्ण डुम्रे
वालिङ, साउन १५ गते । वालिङ नगरपालिका–१० का एकदेव ढकाल ९२ वर्ष पुग्नुभयो । युवा अवस्थामा उहाँ पैदल खस्यौली (हालको रुपन्देहीको बुटवल) पुगेर दैनिक उपभोग्य सामग्री ल्याउने गर्नुहुन्थ्यो । उहाँ युवा अवस्थामा कयौँ पटक खस्यौली पुग्नुभयो, त्यसको कुनै गणना नै छैन ।
आँगनमै गाडी आइपुगेको अहिलेको अवस्था सम्झँदै उहाँ भन्नुहुन्छ, “यस्तो पनि दिन आउँदो रैछ, हामीले त धेरै दुःख गरेका हौँ ।” सातदेखि १० दिनको यात्रापछि आफूहरू खस्यौलीबाट सामान डोकोमा बोकेर वालिङस्थित घर आइपुगेको अनुभव अहिले पनि ताजा छ ढकाललाई । उहाँलाई अहिले युग नै परिवर्तन भए जस्तो लाग्छ ।
विसं २०२१ मा राजमार्ग निर्माण सुरु हुँदा अब त बुटवल पुग्दा देखिने गाडी यहीँ आउँछ रे भन्दा युवा उत्साहित भएका थिए । ढकाल भन्नुहुन्छ, “अहिले त गाउँ गाउँमा गाडी आइपुग्यो, हिँडडुल गर्नै पर्दैन ।” लौ अब वालिङमै गाडी आइपुग्ने भयो भनेर हामी खुसी भएको हिजो जस्तै लाग्छ । स्याङ्जालगायतका पहाडी क्षेत्रबाट सामान लिन खस्यौली जानुपर्ने बाध्यता थियो ।
सिद्धार्थ राजमार्गको बुटवल–पोखरा खण्ड मानिसले हातले नै खनेर तयार गरेको सडक हो । युवा अवस्थामा ढकाल मात्रै होइन, अन्य युवा पनि सडक खन्ने काममा गएका थिए । उहाँका अनुसार त्यतिबेला सडक खन्दा दैनिक ५० पैसा पाइन्थ्यो । उहाँ सम्झनुहुन्छ, “हामीले गँैची, बेल्चा, फलामको खन्ती खन्न प्रयोग गथ्र्यौं । माटो बोक्न जुटको बोरामा बाँस राखेर डोली बनाउँथ्यौँ ।”
५४ वर्षअगाडि घरेलु औजार प्रयोग गरेर खनेको सडक अहिले पनि उस्तै छ । राजमार्ग स्तरोन्नतिको पर्खाइमा छ तर यसले सार्थकता पाउन सकेको छैन । पोखरादेखि बुटवलसम्मको पहाडी क्षेत्रमा पर्ने सडक अस्तव्यस्त छ । १५७ किलोमिटरको यो क्षेत्रमा ओहोरदोहोर कठिनपूर्ण छ । राजमार्ग १८० किलोमिटर लामो छ । विसं २०३६ सम्म देशका पश्चिमका जिल्लालाई पोखरा र राजधानीसँग जोड्ने प्रमुख सडक सिद्धार्थ राजमार्ग अहिले भने जीर्ण अवस्थामा पुगेको छ । राजमार्गको नाम दिइए पनि प्रत्येक एक सय मिटरमा १० वटा खाल्टाखुल्टी छन् । साँघुरो सडकका कारण दुर्घटनाको दर पनि उच्च छ ।
दुई प्रदेश जोड्ने राम्दी पुलमा १० टनभन्दा धेरै सामग्री बोकेका मालवाहक सवारीसाधनलाई चल्न पूर्ण रूपमा रोक लगाइएको छ । यसका कारण यो क्षेत्रमा सामग्रीको भाउ उच्च छ । पछिल्लो समय भने राम्दीमा नयाँ पुल निर्माण सुरु भएको छ । प्रत्येक चुनावमा गतिलो एजेन्डा बन्छ सिद्धार्थ राजमार्ग तर चुनावपछि सबैले भुल्छन् । भारत सरकारको सहयोगमा यो राजमार्ग निर्माण भएको हो ।
पालना भएन मापदण्ड
सिद्धार्थ राजमार्ग घरटहरा बचाऔँ सङ्घर्ष समितिका संयोजक पीताम्बर श्रेष्ठका अनुसार दीर्घकालीन हुने गरी सडक विस्तार गर्नुपर्ने माग छ । उहाँ भन्नुहुन्छ, “पछिल्लो समय विरोधको शैली फेरिएको छ ।”
सार्वजनिक सडक ऐन, २०३१ अनुसार राजमार्ग र यसका दुवैतर्फ २५/२५ मिटरमा कुनै संरचना बनाउन नपाइने प्रावधान छ तर यसको व्यावहारिक कार्यान्वयन भएको देखिँदैन । स्याङ्जा सदरमुकाममा दायाँबायाँ साढे छ मिटर मात्रै कायम छ । २०३६ सालमा तत्कालीन राजा वीरेन्द्रको हुकुमप्रमाङ्गीबाट सदरमुकाम क्षेत्रमा मापदण्ड घटाइएको हो । २०५९ सालमा पोखराको बजार क्षेत्रका दुवैतर्फ १५/१५ मिटर कायम गरिएको थियो । यो राजमार्गको अधिकांश भाग हाल ६.८ देखि सात मिटर चौडा छ । पुतलीबजारका टुकनारायण लामिछानेले राजमार्गको अतिक्रमणले अस्तव्यस्त भएको बताउनुभयो । ८१ वर्षीय लामिछानेले सडक डिभिजन अन्तर्गत सडकको सरसफाइको काम गर्दै आउनुभएको छ ।
सडक, पर्यटन र आर्थिक सम्बन्ध
भैरहवा र पोखरा जोड्ने यो छोटो दुरीको सडक हो । भारतीय पर्यटक पोखरासम्म पुग्न यही सडक प्रयोग गर्छन् । पछिल्ला वर्षमा पोखरा र बुटवल जोड्ने अन्य सडक बनिरहेका छन् । सिद्धार्थ राजमार्गलाई कालीगण्डकी कोरिडोरसँग जोडेर लैजानुपर्ने जिल्लावासीको माग छ ।
सिद्धार्थ राजमार्ग आर्थिक कोरिडोर अभियान सञ्चालन गरिरहेका वालिङ नगरपालिकाका पूर्वनगरप्रमुख दिलीपप्रताप खाँणले राज्यले नै यो राजमार्गलाई बेवास्ता गरेको दुःखेसो गर्नुभयो । राजमार्गले छोएका १६ पालिका मिलेर अभियान चलाउँदै आएका छन् । सडकका घुम्ती कटान गरी चौडा बनाउने हो भने करिब ३२ किलोमिटर सडक छोटिने खाँणको दाबी छ ।
राजमार्ग स्तरोन्नति गरी डेडिकेटेड दुई लेनको बनाउने विषय २०८१/८२ को बजेटमा पनि उल्लेख छ तर बजेट भने तोकिएको छैन । भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको यो राजमार्गको ६७ किलोमिटर भाग स्याङ्जामा पर्छ ।