• ३ जेठ २०८३, आइतबार

साढे बत्तिस किलो यार्चागुम्बा सङ्कलन

blog

मनाङ समाचारदाता 

मनाङ, साउन १५ गते । गत वैशाख १० देखि मनाङको नाम्के खर्कबाट सुरु गरिएको यार्चागुम्बा सङ्कलन सम्पन्न भएको छ । सङ्कलन कार्य सम्पन्न भएसँगै उक्त क्षेत्रबाट ३२ किलो पाँच सय ग्राम यार्चागुम्बा निकासी भएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले असार मसान्तसम्ममा ३२ किलो पाँच सय ग्राम यार्चागुम्बा सङ्कलन तथा निकासी भएको जानकारी दिनुभयो । उहाँले उक्त परिमाणको यार्चागुम्बा निकासीबाट १६ लाख ५७ हजार पाँच सय रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो । 

यार्चा निकासीका लागि प्रतिकिलो ५१ हजार रुपियाँ दस्तुर लिने गरिएको छ । निकासी गरिएको दस्तुर ५१ हजारमध्येबाट १० हजार रुपियाँ संरक्षण क्षेत्र व्यवस्थापन समिति तथा १० हजार रुपियाँ स्थानीय तहलाई उपलब्ध गराइन्छ । 

यहाँका धेरै खर्कमा यार्चागुम्बा पाउने भए पनि नासोँ गाउँपालिका–८, ताचैस्थित नाम्के खर्कबाट करिब दुई जनाले यार्चागुम्बा सङ्कलनको अनुमति लिएका थिए । अनुमतिपत्रबिना औषधीय जडीबुटी सङ्कलन गर्न पाइँदैन । यसले गर्दा अनुमति लिएपछि मात्रै खर्कतर्फ जान दिइन्छ ।  नाम्के खर्क यार्चागुम्बा सङ्कलन गर्ने पहिलो गन्तव्य हो । 

खर्कबाट यार्चागुम्बा सङ्कलन गर्न अनुमति दिने निर्णयबमोजिम सङ्कलन अनुमति दिइएको संरक्षण क्षेत्र व्यवस्थापन समितिका संयोजक एवं नासोँ–८ का वडाध्यक्ष याद घलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङको संयोजकत्वमा संरक्षण क्षेत्र व्यवस्थापन समितिले यार्चागुम्बा सङ्कलनका लागि अनुमति दिएपछि मात्रै खर्क जान पाउने प्रावधान छ । सोही अनुरूप यार्चागुम्बा सङ्कलनका निम्ति नाम्के खर्कमा स्थानीयका साथै बाहिरी जिल्लाबाट आएका व्यक्तिलाई सङ्कलन अनुमति दिइन्छ ।” 

वैशाखदेखि असार मसान्तसम्म यार्चागुम्बा सङ्कलन गरिने मनाङमा २०६६ सालमा नारस्थित नाम्के खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण साबिकको ‘नार’ र ‘फु’ गाविसमा यार्चागुम्बा सङ्कलन कार्य रोकिएको थियो । 

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले यार्चागुम्बा सङ्कलन गर्न अन्य जिल्लाका सङ्कलकलाई अनुमति नदिइएको बताउनुभयो । उहाँले भन्नुभयो, “सुरक्षाको चुनौतीकै कारण बाह्य जिल्लाबाट आउने यार्चागुम्बा सङ्कलकलाई रोक लगाएका छौँ । विगतका जस्ता घटना दोहोरिनु हुँदैन भनेर हामीले स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिएका हौँ ।”

नार्पाभूमिको नार र फु संरक्षित र निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाका हिसाबले पनि विगतको जस्तो अवस्था सिर्जना नहोस् भनी अन्य जिल्लाकालाई यार्चा सङ्कलनमा रोक लगाउने निर्णय गरिएको हो ।