• ११ मंसिर २०८१, मङ्गलबार

फूलबारी बिओपी बाढीको चपेटामा

blog

मोहना नदीका कारण जोखिममा परेको बिओपी भवन । तस्बिर : कृतबहादुर विष्ट

फूलबारी समाचारदाता 

फूलबारी (कैलाली), साउन १५ गते । सीमा सुरक्षार्थ स्थापना भएको सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बिओपी) कार्यालय बाढीका कारण विस्थापित भएको छ । मोहना नदीमा आएको बाढीका कारण सशस्त्र प्रहरी बल नेपाल बिओपी विस्थापित भएको हो । लल्लीपुरमा रहेको बिओपीमा सशस्त्र प्रहरी नायब निरीक्षक यज्ञराज भट्टराईको कमान्डमा १८ जनाको टोली खटाइएको थियो । विस्थापित सशस्त्र प्रहरी स्थानीय सामुदायिक भवनमा बस्दै आएको छ । सीमा सुरक्षा गर्ने उद्देश्यले २०७८ साउन १८ गते लल्लीपुर बिओपी स्थापना भएको हो । मोहना नदीको बाढीले बिओपी प्रतीक्षालय, सेन्ट्री पोस्ट र आँगन बगाइसकेको छ ।

बाढीका कारण करिब तीन करोडको नोक्सान भएको बिओपी इन्चार्ज भट्टराईले बताउनुभयो । बिओपी लल्लीपुरबाट करिब तीन किलोमिटर टाढाबाट सीमा क्षेत्रको गस्ती गरिरहेको उहाँले बताउनुभयो । नदीले नबगाउने क्षेत्रमा जमिन खोजेर बिओपी स्थापनाको पहल गरिने धनगढी उपमहानगरपालिका–१९ का अध्यक्ष बाधुराम चौधरीले बताउनुभयो । यस विषयमा सरोकारवाला निकायसँग तटबन्धन निर्माणका लागि माग गरिएको उहाँले बताउनुभयो । 

लल्लीपुर बिओपी स्थापना भएपछि सीमा क्षेत्रमा हुने चोरी तस्करीसमेत नियन्त्रणमा आएको स्थानीयको भनाइ छ । यसअघि सो क्षेत्रबाट दैनिक जसो नेपाली नागरिकको  घरमा चोरी, डकैती र लुटपाट हुने गरेको थियो । कैलाली जिल्लाको १०५ किलोमिटर क्षेत्रको १९ स्थानमा सशस्त्र प्रहरी खटाइएको छ । सीमा क्षेत्रमा रहेका युनिटमध्ये अन्य छ वटा युनिट डुबानको समस्यामा रहेको सशस्त्र प्रहरी बल जिल्ला प्रमुख सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेले जानकारी दिनुभयो ।