दैलेख समाचारदाता
दैलेख, साउन १५ गते । दुल्लु नगरपालिका–१ का पूर्णबहादुर खड्काको मुख्य पेसा कृषि हो । जीवनका पाँच दशक कृषि कर्ममा बिताउनुभएका उहाँले पछिल्लो समय कृषि उत्पादनमा आएको कमीका कारण चिन्तित हुनुहुन्थ्यो । जति मेहनत गरे पनि उत्पादनमा कमी आएपछि कृषिकर्म नै छोड्नै लाग्नुभएका उहाँलाई पछिल्लो समय सञ्चालन भएको जलवायुमैत्री कृषक पाठशालाले उहाँलाई कृषि पेसामा आशा पलाएको छ । उहाँले फेरि कृषि पेसामा समय बिताउने प्रण गर्नुभएको छ ।
गोरखापत्रसँगको कुराकानीमा उहाँले भन्नुभयो, “परम्परागत तरिकाले कृषि पेसा गर्दा उत्पादन राम्रो नहुने रहेछ । हामीले जलवायुमैत्री कृषि खेती गर्न सकेमा राम्रो आम्दानी हुने भएपछि अहिले जलवायुमैत्री कृषि खेती गरिरहेको छु ।” समय अनुकूल खेती मौसमी, बेमौसमी खेती गरेर पनि राम्रो आम्दानी गर्न सफल उहाँले विभिन्न सरकारी तथा गैरसरकारी संस्थाले दुल्लु नगरपालिकामा कृषकका लागि सञ्चालन भएको छ महिने कृषक पाठशालामा सहभागि हुँदै आएपछि कृषि खेतीमा समेत परिवर्तन आएको बताउनुभयो ।
उहाँले जस्तै दुल्लु नगरपालिका–१ का खम्बिरा खड्काले पनि पछिल्लो समय जलवायुमैत्री कृषि खेती प्रणाली सुरु गरेपछि राम्रो आम्दानी लिन सफल भएको बताउनुभयो । उहाँले परम्परागत खेती प्रणाली गर्दा दुःख धेरै तर उत्पादन कम हुने गरेको बताउनुभयो । समय अनूकूल खेती गर्न जानेपछि अहिले परिश्रम कम, उत्पादन बढी हुने गरेको उहाँले अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, “समयमा पानी नपर्ने समस्याले उत्पादन घट्दै गएको र त्यसका लागि पानीका मुहान संरक्षण गरी पोखरीसमेत निर्माण गरिएपछि अहिले पानी जम्मा गरेर तरकारी उत्पादन गर्न सफल भएका छौँ ।”
कृषक पाठशाला कृषकका लागि महत्वपूर्ण रहेछ । जसले कृषि खेती कसरी गर्ने, रोग किरा कसरी नियन्त्रण गर्ने, सिँचाइ कसरी गर्ने भन्ने सिकाइले अहिले दुल्लु नगरपालिका–१ का कृषकलाई राम्रो जानकारी भएपछि कृषकले राम्रो आम्दानी लिन सफल भएको खड्काको भनाइ छ । स्थानीयलाई व्यावसायिक कृषक बनाउनका लागि दुल्लु नगरपालिका–१, देउतीचौरमा सोसेक नेपालद्वारा सञ्चालित ग्रिन कर्णाली परियोजनाको सहयोग र दुल्लु नगरपालिकाको समन्वयमा जलवायु मैत्री कृषक पाठशाला सञ्चालन गरिएको सोसेक नेपालका कृषि प्राविधिक हिमेन्द्र माझीले बताउनुभयो ।
उहाँले पाठशालाबाट कृषकले प्राङ्गारिक कृषि उपज उत्पादन गर्ने र रासायनिक विषादीको प्रयोग घटाउने विधि, माटोको संरक्षण, मलजल, गोडमेल, किरा नियन्त्रणमा जैविक विधिको प्रयोग, बिउबाली छनोट, जैविक मलको प्रयोग र माटोको उर्वराशक्ति वृद्धि, रैथाने बाली संरक्षणलगायत विषयमा किसानबिच नियमित छलफल हुने गरेको छ ।