बुलबुले समाचारदाता
सुर्खेत, साउन १५ गते । वीरेन्द्रनगरमा निर्माणाधीन तीन वटा सरकारी भवनको फेरि म्याद थपिएको छ । सम्झौता अवधि सकिए पनि भवन निर्माणको काम नसकिएपछि म्याद थपिएको हो । प्रदेश आयुर्वेद औषधालय, कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको म्याद थपिएको छ ।
प्रदेश आयुर्वेद औषधालयको भवन निर्माणको एक वर्ष म्याद थप भएको छ । २०८० साल फागुन ३ गतेदेखि २०८१ साल फागुन २९ गतेसम्मका लागि म्याद थप गरिएको हो । पटक पटक म्याद थप गर्दा पनि भवन निर्माणको काम अधुरै छ । निर्माणको काम २०७८ साल असारबाट सुरु गरिएको थियो । आयुर्वेद अस्पतालको भवन बनाउन कौशल जगदम्बा सुपर स्ट्रार निर्माण कम्पनीले जिम्मा लिएको छ । सङ्घीय सरकारको १८ करोड २२ लाख बजेटमा निर्माण सम्झौता गरिएको हो ।
भवनको हालसम्म ३० प्रतिशत मात्र भौतिक तथा २५ प्रतिशत वित्तीय प्रगति भएको सहरी विकास तथा भवन डिभिजन कार्यालयका इन्जिनियर पूर्ण शर्माले बताउनुभयो । १५ शय्याबाट सेवा दिने गरी भवन निर्माणको काम थालिएको थियो । सम्झौता भएको तीन वर्ष बितिसक्दा पनि न्यून मात्र काम भएको आयुर्वेद औषधालयका प्रमुख डा. शङ्करप्रसाद रिजालले बताउनुभयो । उहाँका अनुसार ४२ महिनामा एक तला मात्र ढलान भएको छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रको भवन निर्माणमा ढिलासुस्ती हुँदा सेवा प्रवाहमा असर परिरहेको डा. रिजालले बताउनुभयो । सेवा विस्तार भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा समस्या हुने गरेको छ ।
यस्तै कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माण कार्य पनि अधुरै छ । उक्त भवनको पनि म्याद थप गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । २०८० साल कात्तिक १ गतेदेखि २०८१ चैतसम्म म्याद थपिएको कार्यालयका इन्जिनियर पूर्ण शर्माले बताउनुभयो । यसअघि सझौता अनुसार २०७९ चैतमा निर्माण सम्पन्न हुनुपर्ने भवन अझै सकिएको छैन । जगदम्बा शिवालय सुपर स्ट्रार निर्माण कम्पनीले २०७८ साल असोज २४ गते भवन निर्माणको जिम्मा पाएको थियो । सम्झौता अनुसारको अवधिमा काम नसकिएपछि पुनः म्याद थप गरिएको छ । भवन निर्माणको काम सुस्त गतिमा भइरहेको कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताउनुभयो । भवन निर्माणमा ढिलाइ हुँदा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र भाडाको घरबाट सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । निर्माण व्यवसायीको ढिलाइले गर्दा भवन निर्माण कार्यमा ढिलाइ भएको उहाँको भनाइ छ ।
यसै गरी वीरेन्द्रनगरमै निर्माणाधीन प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको भवन निर्माणको पनि म्याद थप गरिएको छ । २०८० साल माघ १ देखि २०८१ साल पुस २९ सम्मका लागि म्याद थप गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय सुर्खेतले जनाएको छ । २०७८ साल असार २८ देखि भवन निर्माणको काम थालिएको थियो । २०७९ साल पुस २८ सम्म निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकोमा त्यसयता पटक पटक म्याद भए पनि काम सम्पन्न हुन सकेको छैन ।
हालसम्म भवन निर्माणको ७० प्रतिशत भौतिक प्रगति भएको कार्यालयका इन्जिनियर पूर्ण शर्माले जानकारी दिनुभयो । यसै गरी भवनको वित्तीय प्रगति ६५ प्रतिशत हासिल भएको छ ।