• १५ साउन २०८१, मङ्गलबार

कैदी मृत्यु प्रकरणः ५८ जना कैदीबन्दीसँग बयान लिइयो

blog

सङ्खुवासभा, साउन १५ गते । सुरक्षाकर्मी र कैदीबन्दीबीच भएको कुटपिटमा परी दुई जना कैदीको मृत्यु प्रकरणमा थप कैदीबन्दीसँग बयान लिइएको छ । जिल्ला कारागार खाँदबारीमा दुई कैदीको कुटपिटपछि मृत्यु भएको घटनामा थप ५८ जना कैदीबन्दीसँग बकपत्र ९बयान० लिएकोे जिल्ला अदालतका सूचना अधिकारी ईश्वरी भण्डारीले जानकारी दिनुभयो । 

गत २०८० साउन २४ गते जिल्ला कारागार खाँदबारीमा कैद भुक्तान गरिरहेका सङ्खुवासभा मादी नगरपालिका–५ का २० वर्षीय प्रकाश तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको कुटपिटमा मृत्यु भएको थियो । 

कारागारबाट भाग्न खोजेको आरोपमा दुई जना कैदीलाई नियन्त्रणमा लिएर सुरूमा प्रहरीले कुटपिट गरेको र कारागारभित्र बुझाएपछि कैदीबन्दीले कुटपिट गरेर यातना दिएको सिसी क्यामेरा फुटेजमा देखिएको थियो । 

दुई जना कैदीको कुटपिटपछि हत्या घटनामा संलग्न भएको आरोपमा गत २०८० भदौ २७ गते सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ । जिल्ला अदालतले सात प्रहरीलाई जिल्ला कारागार, धनकुटा र कैदीलाई जिल्ला कारागार, तेह्रथुम पठाउन आदेश दिएको थियो ।


पीडित परिवारले एक वर्षसम्म पाएनन् क्षतिपूर्ति  

जिल्ला  कारागार खाँदबारीमा सुरक्षाकर्मी र कैदीबन्दीको कुटपिटबाट मारिएका पीडित परिवारले रातह तथा क्षतिपूर्ति पाएका छैनन् । रातह तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग पटकपटक माग गरे पनि राहत तथा क्षतिपूर्ति नपाएको सङ्खुवासभाको मादीका पीडित विनोद तोलाङ्गीले बताउनुभयो । 

गत २०८० साउन २४ गते घटना भएको एक वर्ष पुग्दा पीडित परिवारले कुनै राहत क्षतिपूर्ति पाउन नसकेका हुन् । पीडित परिवारले रोजगारी ग्यारेन्टी र पठनपाठन निःशुल्कसहितको माग गरेका थिए ।

घटनालगत्तै जिल्ला प्रशासन कार्यालय सङ्खुवासभामा बसेको पीडित पक्ष र सरोकारवाला निकायबीचको छलफलले पीडित परिवारलाई राहत तथा क्षतिपूर्ति माग गर्ने निर्णय गरेको थियो । गत मङ्सिर २४ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले कुटपिटबाट मारिएका दुई कैदीका परिवारलाई क्षतिपूतिका लागि गृह मन्त्रालयमा सिफारिस समेत गरेको थियो ।

घटना भएको एक वर्ष पुग्दा पीडित परिवारले राहत क्षतिपूर्ति नपाएको भन्दै गत मङ्सिरमा राष्ट्रिय मानव अधिकार कोशी प्रदेशले चासो देखाएको थियो । पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिका लागि माग गरे पनि गृह मन्त्रालयबाट हालसम्म कुनै पनि निर्णय नआएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

कुटपिटबाट मारिएका पीडित परिवारले क्षतिपूर्ति माग गर्दै गत भदौ २० गते गृह मन्त्रालयमा ज्ञापनपत्र बुझाएका थिए । सो घटनाका आरोपमा ०८० भदौ २७ गते जिल्ला अदालतले सात जना प्रहरी र आठ जना कैदीलाई पुर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालतले आदेश दिएको थियो । सो मुद्दा साउन १४ गतेसम्म फैसला भएको छैन । मुलुकी अपराधसंहिता, २०७४ को दफा १८६ बमोजिम क्षतिपूर्ति, अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम क्षतिपूर्ति मागसहित मुद्दा दर्ता गरिएको छ ।