• १५ साउन २०८१, मङ्गलबार

दुध उत्पादकलाई प्रोत्साहन अनुदान

blog

छिन्चु समाचारदाता

सुर्खेत, साउन १५ गते । कर्णाली प्रदेश सरकारले गत आर्थिक वर्ष २०८०/८१ मा कर्णालीका दुध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड रुपियाँभन्दा बढी प्रोत्साहन अनुदान उपलब्ध गराएको छ । 

दुध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदेश सरकारले सुरु गरेको यस कार्यक्रम कर्णालीका पाँच जिल्लामा प्रतिलिटर १० रुपियाँ र अन्य जिल्लामा पाँच रुपियाँका दरले ३७ लाख ९१ हजार ४२९ लिटर दुधमा एक करोड २३ हजार प्रोत्साहन रकम अनुदानबापत उपलब्ध गराइएको प्रदेश सरकारले जनाएको छ । जसबाट तीन हजार ७७६ कृषक लाभान्वित भएका छन् । 

प्रोत्साहन कार्यक्रम अन्तर्गत सबैभन्दा धेरै सुर्खेतका दुध उत्पादक किसान लाभान्वित भएका छन् । प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले गत आवमा सुर्खेतका दुई हजार ४१ कृषकलाई ४९ लाख २९ हजार रुपियाँ प्रोत्साहन रकम प्रदान गरेको मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिनुभयो । 

त्यस्तै सल्यानका ६४१ किसानले १३ लाख ३४ हजार प्रोत्साहन रकम प्राप्त गरेका छन् । रुकुमपश्चिमका ४७७ किसानलाई १५ लाख, जाजरकोटका ७१ किसानलाई चार लाख २३ हजार, दैलेखका ४३४ किसानलाई १० लाख ५३ हजार रुपियाँ दूध उत्पादन गरेबापात प्रोत्साहन रकम प्रदान गरिएको प्रवक्ता कठायतले बताउनुभयो । 

कालीकोटका एक सय चार किसानलाई सात लाख, हुम्लाका आठ किसानलाई ८५ हजार ३६० रुपियाँ दुग्ध उत्पादक किसानलाई प्रोत्साहन अनुदानबापत प्रदान गरिएको मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । 

मुगु र डोल्पामा भने दुध उत्पादक किसान नभएकाले मन्त्रालयले प्रोत्साहन रकम वितरण गरेको छैन । मन्त्रालयले गत आवमा गरेको कुल खर्चबाट कृषि व्यवसायमा संलग्न २५ हजार ८१२ घरधुरी लाभान्वित भई औसतमा प्रतिघरधुरी ५६ हजार ७४५ रुपियाँ लगानी भएको जनाएको छ ।