• ११ मंसिर २०८१, मङ्गलबार

अपराधका घटना बढेको प्रहरीको तथ्याङ्क

blog

हेटौँडा समाचारदाता

हेटौँडा, साउन १५ गते । बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले सार्वजनिक गरेको तीन आर्थिक वर्षको तथ्याङ्क अनुसार गत आवमा मुद्दा दर्ता र अपराधका घटना बढेको छ । बागमती प्रदेशका काठमाडौँ उपत्यकाका तीन जिल्लाबाहेकका १० जिल्लामा १० प्रतिशतले अपराधका घटना बढेको जनाइएको छ । आव २०७८/७९ मा चार हजार ४०५ र आव २०७९/८० मा चार हजार ६७९ अपराधका घटना भएकोमा गत आवमा पाँच हजार १९७ मुद्दा दर्ता र अपराधका घटना भएका छन् । प्रहरीका अनुसार अघिल्ला आवको तुलनामा गत आवमा ९.९६ प्रतिशतले अपराध बढेको देखिन्छ ।

गत आवमा सङ्ग्ठित तथा आर्थिक अपराध सम्बन्धित घटना बढेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको तथ्याङ्कले देखाएको छ । प्रदेशको तीन आवको तथ्याङ्कले बैङ्किङ कसुर र वित्तीय अपराधका घटनामा वृद्धि भएको देखाएको हो । सङ्गठित तथा आर्थिक अपराध सम्बन्धित घटना आव २०७८/७९ मा ५६३ भएकोमा आव २०७९/८० मा वृद्धि भई ९०४ र गत आवमा एक हजार ३३४ पुगेको छ । यस्तै गत आवमा ज्यानसम्बन्धी ९९१, आत्महत्यासम्बन्धी ९९७, चोरीसम्बन्धी २६५, सामाजिक अपराधसम्बन्धी ८४९, सवारीसम्बन्धी ३१० र अन्य ४७१ अपराधसँग सम्बन्धित घटना भए । 

गत आवमा ३५२ लागुऔषध, ४८ कर्तव्य ज्यान, २८६ जबरजस्ती करणी, आठ मानव बेचबिखन तथा ओसारपसार, पाँच अपहरण तथा शरीर बन्धक, दुई डाँका र अन्य २७ अपराधका घटना भएका छन् । गत आवमा २८६ वटा जबरजस्ती करणी, ४६ बहुविवाह, ५१ जबरजस्ती करणी उद्योग, आठ वटा मानव बेचबिखन तथा ओसारपसार र दुई वटा बालविवाहसँग सम्बन्धित अपराधका घटना भएका छन् ।