• १४ असोज २०८१, सोमबार

पर्यटकको औसत बसाइ बाह्र दिन

blog

सन्तोष सुवेदी

कास्की, साउन १५ गते । गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकको औसत बसाइ अवधि १२ दिन रहेको पाइएको छ । पर्यटकको भारित औसत दैनिक खर्च आठ हजार ३५५.२९ (अमेरिकी डलर ६२.८९) रहेको पाइएको छ । नेपाल राष्ट्र बैङ्क, पोखरा कार्यालय अन्तर्गतको अनुसन्धान एकाइले तयार पारेको अध्ययन प्रतिवेदन अनुसार गत आवमा भुक्तानीका माध्यम प्रयोगको विश्लेषण गर्दा यस सर्वेक्षणमा संलग्न पर्यटकमध्ये नगदको माध्यमबाट ९४.९३ प्रतिशत पर्यटकले भुक्तानी गर्ने गरेको पाइएको छ । 

पर्यटकमध्ये केही पनि समस्या अनुभव नगरेका पर्यटक २८.४१ प्रतिशत भए पनि बाँकी ७१.५९ प्रतिशत पर्यटकले विभिन्न समस्या जस्तै भाषागत समस्या, पर्यटन सूचनाको कमी, यातायातको समस्या, सुरक्षाको समस्या, भुक्तानीमा समस्या, सांस्कृतिक फरकपनाले निम्त्याएको समस्या इत्यादि भोग्नु परेको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदन अनुसार गत आवमा विश्वका विभिन्न ४१ देशबाट गण्डकी प्रदेशमा पर्यटक आएका छन् । तीमध्ये सबैभन्दा धेरै भारत, फ्रान्स, अमेरिका, बेलायत र अस्ट्रेलियाका रहेका छन् । 

सबैभन्दा बढी युरोप महादेशबाट ४६.२५ प्रतिशत पर्यटक आएको पाइएको छ भने सबैभन्दा कम दक्षिण अमेरिका महादेशबाट ०.७५ प्रतिशत पर्यटक आएको देखिएको छ । अफ्रिका महादेशबाट गण्डकी प्रदेशमा पर्यटक आएको पाइएन ।

गण्डकी प्रदेशमा आउने पर्यटकमध्ये ३१ देखि ४५ वर्ष उमेर समूहका पर्यटक सबैभन्दा बढी ३३ प्रतिशत रहेको पाइयो भने सबैभन्दा कम २० वर्षसम्म उमेर समूहका पर्यटक १.५ प्रतिशत रहेको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

गत वर्ष गण्डकीमा पहिलो पटक आउने पर्यटक ६८ प्रतिशत रहँदा ३२ प्रतिशत भने एक पटकभन्दा बढी आइसकेको वर्गमा परेका छन् । यस्तै एकल भ्रमण गर्ने पर्यटक ३४.७५ प्रतिशत, साथीसँग भ्रमण गर्ने २८.७५ प्रतिशत, परिवारसँग भ्रमण गर्ने २२.५० प्रतिशत र समूहमा भ्रमण गर्ने १४ प्रतिशत रहेको प्रतिवेदनमा समावेश गरिएको छ ।

गण्डकी प्रदेशमा विभिन्न साहसिक एडभेन्चरको गन्तव्य भएकाले पनि सबैभन्दा बढी पर्यटक साहसिक क्रियाकलापमा संलग्न हुन आउने गरेको पाइएको छ । 

साहसिक क्रियाकलापमा संलग्न हुन गण्डकीमा आउने पर्यटक ४०.१८ प्रतिशत रहेका छन् भने व्यापारिक प्रयोजनका लागि आउने पर्यटक २.९८ प्रतिशत छन् ।

उक्त सर्वेक्षणमा संलग्न पर्यटकको नेपालको औसत बसाइको तुलनामा गण्डकी प्रदेशको औसत बसाइ ५४.५५ प्रतिशत रहेको छ । पुरुष पर्यटकको तुलनामा महिला पर्यटकको औसत बसाइ अवधि उच्च रहेको पाइएको छ । 

नेपाल भ्रमण गर्ने महिला पर्यटकले औसतमा २५ दिन र पुरुष पर्यटकले औसतमा २० दिन भ्रमण गर्ने गरेको पाइएको छ भने गण्डकी प्रदेशमा औसत बसाइ अवधि पुरुष पर्यटकको ११ दिन र महिला पर्यटकको १३ दिन रहेको छ ।